हेटौँडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–६ लोथर बजारमा राँगाले हान्दा एक जना बालक घाइते भएका छन् । शनिबार साँझ राँगाले अटोलाई ठक्कर दिँदा पल्टिन गई अटोमा सवार मकवानपुर मनहरी गाउँपालिका–७ बिजौना बस्ने ५ वर्षीय आशिष मोक्तान घाइते भएका छन।

पूर्व पश्चिम सडक खण्डको लोथरबाट मनहरी तर्फ आउँदै गरेको बा.प्र.०३–००१ ह १५६० न. अटो बाटो क्रस गर्ने क्रममा मकवानपुर मनहरी गाउँपालिका–६ बस्ने ४० वर्षीय नीरज कुँवरको गोठमा बाँधी राखेको राँगो गोठबाट फुत्की अटोलाई ठक्कर दिएको प्रहरी चौकी सुनाचुरीले जनाएको छ ।

घाइते बालकको उपचारका लागि मनहरी अस्पताल लगिएकोमा सामान्य उपचारपश्चात् थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवनमा पठाइएको बागमती प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए। घाइतेको निधार र बायाँ कुममा भित्री चोट लागेको छ ।