हेटाैँडा । मकवानपुरको भीमफेदी गाउँपालिका– ६, जुरीखेतमा भएको सुमो दुर्घटनामा ज्यान गुमाउने तथा घाइते हुनेहरूको पहिचान खुलेको छ । काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो आइतबार साँझ भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत जुरीखेतमा सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
मकवानपुर प्रहरीका अनुसार मृतकहरूमा भारत बिहार राज्य पटना बस्ने अन्दाजी ४२ वर्षीय रजनीश कुमार, मकवानपुर हेटौँडा उपमहानगरपालिका– ४, कमलडाँडा बस्ने अन्दाजी ४० वर्षीया सविता लम्साल, हेटौँडा उपमहानगरपालिका– २, कान्तिराजपथ बस्ने अन्दाजी २९ वर्षीय निखिल अग्रवाल, भारत बिहार राज्य बेगुसराई बस्ने अन्दाजी ४९–५० वर्षीय अरविन्द कुमार रहेका छन् । यस्तै, तत्काल नाम, थर र वतन नखुलेका दुईजना पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको पहिचान खुलाउने प्रयास भइरहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीले जानकारी दिए ।
दुर्घटनामा घाइते हुनेमा सुमोचालक हेटौँडा उपमहानगरपालिका– ४, कर्रा चोक बस्ने अन्दाजी ४०–४५ वर्षीय गणेश थापा, दुर्घटनामा मृत्यु भएकी सविता लम्सालका १२ वर्षीय छोरा अभ्यास लम्साल र रौतहट चन्द्रपुर नगरपालिका– २ बस्ने २१ वर्षीया रिचा चौधरी रहेका छन् ।
गम्भीर घाइते चालक गणेश थापा र बालक अभ्यास लम्साललाई थप उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर चितवन रिफर गरिएको छ । रिचा चौधरीको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । नयाँ पत्रिकाबाट












प्रतिक्रिया दिनुहोस्