हेटौंडा । तरकारी उत्पादनमा चर्चित रहेको मकवानपुरको थाहा नगरपालिकामा झण्डै २५ करोड लागतमा निर्माण गरिएको शीत भण्डार (कोल्ड स्टोर) संचालनमा ल्याउने तयारी भइरहेको छ । नगरपालिका कार्यालय शीत भण्डार संचालनका लागि कार्यविधि बनाउन जुटेको छ ।

थाहा नगरपालिका-३ घर्तीखोलास्थित सार्वजनिक जमिनमा निर्माण गरिएको शीत भण्डारलाई चालु आर्थिक वर्षभित्रै संचालन गर्ने तयारी भइरहेको हो । शीत भण्डारमा आवश्यक उपकरण जडान भइसकेकाले कार्यविधि बनाएर छिट्टै संचालनमा ल्याउने तयारी भइरहेको थाहा नगरपालिका प्रमुख विष्णु विष्टले बताए ।

बागमती प्रदेश सरकार, स्थानीय तह र सहकारीहरुको संयुक्त लगानीमा शीत भण्डार निर्माण गरिएको हो । ०७४/०७५ देखि निर्माण सुरु गरिएको शीत भण्डारमा प्रदेश सरकारले ७० प्रतिशत, पालिकाले १५ प्रतिशत र पालुङका सहकारीले १५ प्रतिशत रकम लगानी गरेका छन् ।

२५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको शीतभण्डारका लागि प्रदेश सरकारले पटक/पटक गरेर १७ करोड ५० लाख, थाहा  नगरपालिका र स्थानीय सहकारीहरुले ७ करोड ५० रुपैयाँ लगानी गरेका छन् । दुई हजार मेट्रिक टन क्षमताको शीत भण्डारमा आलु, मुला, काउली, बन्दाकोपी, खुर्सानी, गोलभेडालगायत तरकारीजन्य बस्तु राख्न सकिन्छ ।

सुरुमा करिब साढे ११ करोडको लगानीमा उक्त शीत भण्डार निर्माण गर्ने स्टेमेट रहेको थियो । पछि डिजाइन परिवर्तन गरेर लागत बढ्न गएको बागमती प्रदेशका कृषि मन्त्रालयका सूचना अधिकारी सुजन कँडेलले भने,‘पहिला आलुमात्र राख्ने सोचेर डिजाईन गरिएको थियो, पछि त्यसलाई परिवर्तन गरी उक्त क्षेत्रमा उत्पादित अन्य तरकारी र फलफुल राख्न मिल्ने बनाएका छौं ।’