हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका ७७ जिल्ला प्रशासन कार्यालयमध्ये पाँचौँ उत्कृष्ट प्रशासन कार्यालय बन्न सफल भएको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०८२/८३ को कार्यसम्पादन मूल्यांकन नतिजाअनुसार मकवानपुर उत्कृष्ट पाँच जिल्लाभित्र पर्न सफल भएको हो ।

मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय मनाङ पहिलो, म्याग्दी दोस्रो, भक्तपुर तेस्रो, रसुवा चौथो र मकवानपुर पाँचौँ स्थानमा रहेका छन् । विपरीत रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडौं ७६औँ स्थानमा परेको छ भने धनुषा अन्तिम अर्थात् ७७औँ स्थानमा रहेको छ ।

गृह मन्त्रालयले सेवा प्रवाह, सुशासन, शान्ति सुरक्षा व्यवस्थापन, विपत् व्यवस्थापन, मुद्दा फर्स्याेट, राजस्व प्रशासन, गुनासो व्यवस्थापन, समन्वय तथा अन्य प्रशासनिक सूचकका आधारमा सबै जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्यांकन गरेको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार उत्कृष्ट पाँचभित्र पर्नु जिल्ला प्रशासन कार्यालयको सामूहिक प्रयास, कर्मचारीको कार्यदक्षता तथा सेवाग्राहीमैत्री सेवा प्रवाहको परिणाम हो । उनले गृह मन्त्रालयले तोकेका कार्यसम्पादनका सूचकहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सेवा प्रवाहलाई छिटो, पारदर्शी र उत्तरदायी बनाउन गरिएको प्रयासले सकारात्मक नतिजा दिएको बताए ।

प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालयले नागरिकता, राहदानी सिफारिस, राष्ट्रिय परिचयपत्र, शान्ति सुरक्षा व्यवस्थापन, विपत् प्रतिकार्य, सार्वजनिक सेवा प्रवाह, मुद्दा व्यवस्थापन तथा विभिन्न प्रशासनिक सेवामा सुधारलाई प्राथमिकता दिँदै आएको छ ।

डिजिटल प्रणालीको प्रयोग विस्तार, सेवाग्राहीको गुनासोको तत्काल सम्बोधन तथा अन्तरनिकाय समन्वयलाई पनि कार्यालयले प्रभावकारी बनाएको उनले बताए । यस वर्षको मूल्यांकनमा मकवानपुरले शान्ति सुरक्षा व्यवस्थापन, सेवा प्रवाहको प्रभावकारिता, विपत् व्यवस्थापनमा सक्रियता, मुद्दा फर्स्याेटको प्रगति तथा सुशासन प्रवर्द्धनजस्ता प्रमुख सूचकमा उत्कृष्ट प्रदर्शन गर्दै देशकै पाँचौँ स्थान हासिल गरेको हो ।