हेटौँडा । राजमार्ग आसपास, खाली जग्गा, वन क्षेत्र तथा खेतबारीमा पछिल्लो समय मिचाहा प्रजातिको ‘पार्थेनियम’ (पाती झार) तीव्र रूपमा फैलिन थालेको छ । हेटौँडा–काठमाडौं सडकखण्डअन्तर्गत भैँसे–भीमफेदी क्षेत्र, कान्ति लोकपथ, मदन भण्डारी लोकमार्ग तथा हेटौँडा उपमहानगरपालिका क्षेत्रका सडक किनार र खुला स्थानमा यो झार व्यापक रूपमा फैलिएको देखिएको छ । वनस्पति तथा वातावरणविद्हरूले पार्थेनियमले जैविक विविधता, कृषि उत्पादन तथा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने चेतावनी दिँदै समयमै नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

हेर्दा पातीझारजस्तै देखिने पार्थेनियम नेपाल सरकारले मिचाहा प्रजातिका वनस्पतिमा सूचीकृत गरेको झार हो । सुरुआती चरणमा सीमित क्षेत्रमा देखिए पनि पछिल्ला वर्षमा यसको फैलावट तीव्र भएको विज्ञहरू बताउँछन् । सडक निर्माण तथा यातायात विस्तारसँगै सवारीसाधन, सरसामान र मानिसको आवतजावतका माध्यमबाट यसको बीउ एक स्थानबाट अर्को स्थानमा पुगेकाले अहिले चुरे, महाभारतदेखि हिमाली क्षेत्रसम्म फैलिएको जनाइएको छ । यसले अन्य घाँस तथा वनस्पतिको वृद्धि रोक्नुका साथै प्राकृतिक बासस्थानमा समेत प्रतिकूल असर पुर्याउने गरेको छ ।

डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रवंशीले सुरुमा थोरै क्षेत्रमा देखिएको पार्थेनियम अहिले जिल्लाका धेरै स्थानमा फैलिएको बताए । उनका अनुसार यो झारले अन्य वनस्पति उम्रन र फैलिन नदिने भएकाले जैविक विविधतामा प्रत्यक्ष असर पुग्ने गरेको छ । एउटा परिपक्व बिरुवाबाट १० हजारभन्दा बढी बीउ उत्पादन हुने भएकाले फूल फुल्नुअघि नै उखेलेर वा काटेर नष्ट गर्न सके मात्र यसको प्रभावकारी नियन्त्रण सम्भव हुने उनले बताए ।

उनका अनुसार डिभिजन वन कार्यालयले वृक्षारोपण तथा पुनरुत्पादन क्षेत्रबाट लहरे वनमारा, झाडी वनमारा र पार्थेनियमलगायत मिचाहा प्रजातिका झार वर्षमा दुई पटक हटाउने गरेको छ । प्रत्येक वर्ष करिब २० देखि ३० हेक्टर क्षेत्रफलमा यस्ता झार नियन्त्रण गर्ने काम भइरहेको उनले जानकारी दिए । वन क्षेत्रबाहिर भने झारनाशक औषधि प्रयोग गर्न सकिने तथा पार्थेनियम खाने ‘विटल’ नामक किराको प्रयोगबाट पनि यसको जैविक नियन्त्रण गर्न सकिने उनको भनाइ छ ।

वातावरणविद्का अनुसार पार्थेनियमले वनस्पतिलाई मात्र नभई मानव र पशु स्वास्थ्यमा पनि असर पार्छ । यसको परागकणका कारण छालामा एलर्जी, आँखामा जलन, श्वासप्रश्वाससम्बन्धी समस्या तथा दमजस्ता रोग देखिन सक्ने जोखिम हुन्छ । पशुचौपायाले कमलो घाँस ठानेर खाँदा बिरामी हुने समस्या पनि देखिएको जनाइएको छ ।

हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र पनि पार्थेनियमको फैलावट बढ्दो भए पनि यसको नियन्त्रणका लागि लक्षित कार्यक्रम सञ्चालन नभएको देखिएको छ । उपमहानगरपालिकाकी वातावरण इन्जिनियर चन्दा खड्काले झाडी फडानी र वृक्षारोपणका कार्यक्रम सञ्चालन भइरहे पनि पार्थेनियम नियन्त्रणका लागि छुट्टै कार्यक्रम सञ्चालन नगरिएको बताए ।

वातावरणविद् बलराम भट्टले पार्थेनियमले अन्य वनस्पतिको बासस्थान नष्ट गर्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । पहिले सडक किनारमा मात्र सीमित रहेको यो झार अहिले खाली जग्गा, खेतबारी र बस्ती नजिकसम्म फैलिएको उनले बताए । उनका अनुसार यो झारले अन्य वनस्पति नष्ट गर्नुका साथै मानिस र पशुमा एलर्जी तथा स्वास्थ्य समस्या निम्त्याउने गरेको छ ।

विज्ञहरूले जनचेतनाको अभाव र समयमै नियन्त्रणका कार्यक्रम सञ्चालन नहुँदा पार्थेनियमको फैलावट बढ्दै गएको बताएका छन् । उनीहरूले स्थानीय तह, सम्बन्धित निकाय र समुदायबीच समन्वय गरी नियमित रूपमा उखेल्ने, नष्ट गर्ने तथा जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न सके मात्र यस मिचाहा प्रजातिको नियन्त्रण सम्भव हुने बताएका छन् ।