हेटौँडा । लोप हुँदै गएको परम्परागत रोटेपिङको संरक्षण गर्न हेटौँडाका केही वडाले पहल थालेका छन् । दसैँको अवसर पारेर हेटौँडा उपमहानगरपालिका–९ मा वडा कार्यालयको बजेटबाट काठको रोटेपिङ निर्माण गरी सञ्चालनमा ल्याइएको छ । यस्तै, हेटौँडा–८ ले पनि परम्परागत लिङ्गे पिङ सञ्चालन गर्न वडावासीलाई आग्रह गरेको छ ।

दसैँ–तिहारका बेला गाउँघरमा रोटे तथा लिङ्गे पिङ हाल्ने चलन रहे पनि पछिल्लो समय यस्तो परम्परा हराउँदै जान थालेको छ । मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले हेटौँडाका वडाले पिङ निर्माण तथा सञ्चालनलाई प्राथमिकता दिएका हुन् ।

हेटौँडा–९ का वडाध्यक्ष सुकराम केसीले लोप हुन लागेको पिङ हाल्ने परम्परालाई यस वर्षदेखि निरन्तरता दिइएको बताउनुभयो । पिङ सञ्चालनमा आएपछि स्थानीय बालबालिका, युवायुवती तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको उहाँले जानकारी दिनुभयो । उक्त रोटेपिङको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी स्थानीय ओम टोल विकास संस्थालाई दिइएको छ ।

यसैगरी, हेटौँडा–८ ले मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण तथा प्रवद्र्धनका लागि वडाभित्र लिङ्गे पिङ सञ्चालन गर्न औपचारिक सूचना जारी गरेको छ । वडा कार्यालयले मठमन्दिर, टोल विकास संस्था तथा सम्बन्धित समितिलाई आ–आफ्नो टोल वा उपयुक्त सार्वजनिक स्थानमा परम्परागत लिङ्गे पिङ निर्माण गरी सञ्चालन गर्न आग्रह गरेको वडाध्यक्ष राम थापाले जानकारी दिए ।

दसैँको आगमनसँगै गाउँ तथा टोलमा पिङ खेल्ने परम्परा जोडिएको छ । दसैँका बेला पिङ खेल्दा धर्ती छोड्नुपर्ने मान्यता पनि प्रचलनमा छ । तर, इन्टरनेट तथा प्रविधिको बढ्दो प्रयोगसँगै परम्परागत मनोरञ्जनका यस्ता माध्यम ओझेलमा पर्दै गएको बताइन्छ । परम्परागत पिङको संरक्षणले मौलिक संस्कृति जोगाउन र नयाँ पुस्तालाई पुराना चलनसँग परिचित गराउन सहयोग पुग्ने विश्वास लिइएको छ ।