हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ८, भावनामार्गमा एक पुरुष मृत र उनकी श्रीमती घाइते अवस्थामा फेला परेका छन् । घरभित्र श्रीमान् मृत अवस्थामा फेला परेका हुन् भने श्रीमती भान्साकोठामा घाइते अवस्थामा भेटिएकी छिन् ।
प्रहरीका अनुसार स्थानीय ४५–४६ वर्षीय शंकर कार्की मृत अवस्थामा र उनकी करिब ४० वर्षीया श्रीमती चरिमाया कार्की घाइते अवस्थामा शुक्रबार बिहान फेला परेका हुन् । घटनाका वेला घरमा श्रीमान् र श्रीमती मात्रै रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
चरिमायाको फोन नउठेपछि रामेछापमा रहेका माइती पक्षले हेटौँडा– ९, लामसुरेमा बस्ने शंकरकी दिदी भवानी महतलाई खबर गरेका थिए । त्यसपछि भवानी भाइको घरमा पुग्दा ढोका भित्रबाट चुकुल लगाइएको अवस्थामा भेटिएको थियो । शंका लागेपछि उनले स्थानीयलाई खबर गरेकी थिइन् । स्थानीयमार्फत प्रहरीलाई सूचना पुगेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
अस्थायी प्रहरी पोस्ट हरियालीबाट प्रहरी सहायक निरीक्षक जादोलालप्रसाद यादवको कमान्डमा खटिएको टोलीले स्थानीय तथा शंकरका दिदी–भिनाजुको रोहवरमा घरको दोस्रो तलामा प्रवेश गरेको थियो । ढोका फोडेर हेर्दा शंकर फलामको डन्डीमा सलको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
त्यसै घरको भान्साकोठामा चरिमाया घाइते अवस्थामा भेटिएकी थिइन् । उनको मुख, टाउको र दुवै खुट्टामा चोट लागेको छ । प्रहरीका अनुसार उनको अवस्था मध्यम रहेको छ । भान्साकोठाको ढोका बाहिरबाट चुकुल लगाइएको अवस्थामा भेटिएको प्रारम्भिक विवरणमा उल्लेख छ ।
घाइते चरिमायालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । शुक्रबार बिहान करिब सात बजे उनलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको प्रहरीले जनाएको छ ।प्रहरीको प्रारम्भिक विवरणअनुसार घटनास्थलमा रगत लागेको अवस्थामा ढुंगाको लोहोरो र इँटा पनि फेला परेका छन् । ती सामग्री घटनासँग कसरी सम्बन्धित छन् भन्ने खुलेको छैन ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको कमान्डमा टोली खटिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पनि घटनास्थल र अस्पतालमा आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
शंकरको मृत्यु र चरिमाया घाइते हुनुको कारण तथा घटनाको वास्तविक परिस्थिति अनुसन्धानपछि मात्रै खुल्नेछ । प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान गरिरहेको जनाएको छ । नयाँ पत्रिकाबाट




















प्रतिक्रिया दिनुहोस्