हेटौंडा । हेटौंडा–६ चौघडामा रहेको नौलो बिहानी कृषि सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
हेटौडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष भरत सापकोटाको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
साधारणसभामा संस्थाको संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भरत सापकोटाले चालु आव ०७९÷०८० मा संस्थाले ३ करोड ७० लाखको कारोवार गर्ने योजना रहेको बताए । संस्थाले बचत संकलनमा १ करोड ७८ लाख, ऋण असुलीमा १ करोड २० लाख, लगानीबाट ब्याज असुलीमा २१ लाख, शेयर विक्रीबाट २ लाख ५० हजार, रसायनिक मल तथा विउविजनबाट १० लाख, आर्थिक सहयोगबाट ८ लाख संकलन गर्ने योजना रहेको छ ।
भेलामा ऋण उपसमितिका संयोजक डोर बहादुर अधिकारीले ऋण उपसमितिको प्रतिवेदन, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले लेखा परिक्षण प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक गोपालचन्द्र भट्टराईले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
भेलामा उत्कृष्ठ बचतकर्ता शारदा श्रेष्ठ र बिमला दुलाल,उ त्कृष्ठ कारोवारीमा ठूलीमाया नेपाली र चन्द्र बहादुर मानन्धर, उत्कृष्ठ कृषकमा रामहरि ओझा, ज्येष्ठ शेयर सदस्य हेम बहादुर खड्कालाई पुरस्कृत गरिएको थियो ।
साधारणसभामा हेटौडा–६ का वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, सरिता सापकोटा, संस्थाका सल्लाहकार राजेन्द्र प्रसाद चौलागाई, विष्णुप्रसाद ढुङगाना, चौघडा सहकारीका अध्यक्ष श्याम प्रसाद श्रेष्ठ, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, बंशगोपाल दुग्ध उत्पादक सहकारीका अध्यक्ष श्याम प्रसाद न्यौपाने, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, जनकल्याण सहकारीका सचिव रोम बहादुर न्यौपाने, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो ।


भीमसेन पौडेल 


















प्रतिक्रिया दिनुहोस्