हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १६ मा रहेको शिवम् सिमेन्ट उद्योगलाई तत्काल धुलो, धुँवा र ध्वनी न्यूनीकरण गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले ७ दिनको समय दिएको छ । उद्योगले सिमेन्ट उत्पादनका लागि क्लिङ्कर तयार गर्न आगो बाल्ने भट्टीमा कोइलाको सट्टा प्लाष्टिक तथा फोहोर प्रयोग गर्ने गरेको रहस्य बाहिर आएपछि मेयर मिना कुमारी लामाले गल्ती तत्काल सुधारेर उद्योगबाट निस्कने धुलो, धुवा र ध्वनी प्रदुषण न्यूनीकरणका लागि उद्योगलाई सात दिने अल्टिमेटम दिएकी हुन् ।

उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकमा मेयर लामाले उद्योगले समयभित्रै कमिकमजोरी सुधार गरी जनताको माग पूरा नगरे कानून बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने बताइन् । उनले भनिन्, ‘जनताको गुनासो धेरै पटक आएको छ, मैले शिवम् सिमेन्टको विषयमा अब हात हालेँ, यो छलफल पहिलो र अन्तिम बनोस् भन्ने म चाहान्छु । उद्योगले चाँडै लापरबाही सुधार गर्नुपर्यो । नत्र, कानून बमोजिम कारबाही हुन्छ ।’ छलफलका क्रममा स्थानीयलाई आश्वासन दिँदै लामाले भनिन्, ‘सुन्नुहोस् अब मैले हात हालेको छु । उद्योगले लापरबाही सुधारेन र तपाईँहरुको माग सम्बोधन भएन भने, उद्योगमा म डोजर चलाउँछु ।’

अनुगमन गर्न वडा अध्यक्षको संयोवकत्वमा समिति
जनताको स्वास्थ्यप्रति गैर जिम्मेवार बनेको भन्दै आन्दोलनमा रहेका हेटौंडा–१६ शिवम् सिमेन्ट क्षेत्रका स्थानियको समस्या समाधान गर्न समिति गठन गरीएको छ । उद्योगले सिमेन्ट उत्पादनको क्रममा प्लाष्टिक जन्य पदार्थहरु संकलन गरी जलाएको र लामो समय देखि धुलोका कारण स्थानिय पिडामा परेको भन्दै आन्दोलनमा रहेका स्थानियको समस्या समाधानका लागि हेटौंडा १६ का अध्यक्ष रामकृष्ण कोइरालाको संयोजकत्वमा समिति गठन गरीएको हो ।

हेटौंडा उपमहानगरपालिकामा भएको सर्बपक्षिय बैठकले आउँदो सात दिन भित्र जनताको गुनासाको संबोधन हुने गरी काम गर्न उद्योगलाई निर्देशन दिँदै आवश्यक अनुगमनका लागि समिति गठन गरीएको हो । नियमित अनुमन गर्ने समितिको सहसंयोजकमा १७ नम्बरका अध्यक्ष उद्धब सत्याल र हेटौंडा उपमहानगरपालिकाका बाताबरण इन्जिनियर चन्दा खड्का सदस्य सचिब रहेको १८ सदस्य समिति गठन गरीएको हो ।

समितिले उद्योगले सिमेन्ट उत्पादनका लागि पेल्ने ढुङ्गाबाट निस्कने धुलो, सञ्चालनका क्रममा आउँने ध्वनी नियन्त्रण गर्नुपर्ने र उद्योग परीसरमा बिभिन्न स्थानबाट संकलिन प्लाष्टिक जलाए नलाएको निरीक्षण गर्दै सुधारको काममा दवाब दिनका लागि समिति गठन गरीएको हो । बैठकका क्रममा स्थानियले बिगत १९ बर्षदेखि उद्योगले फैलाएको प्रदुषणका कारण स्थानियमा स्वासप्रस्वासको समस्या देखिएको बताएका थिए । पटक÷पटक बैठक बस्दै सम्झौता गरेपनि उद्योग सञ्चालकले समस्या समाधानका लागि कुनै काम नगरेको बताए ।

उद्योगलाई जिम्मेवार बनाउँने काममा स्थानियको भूमिका महत्वपुर्ण हुने भन्दै हेटौंडा उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले समस्या समाधानका लागि जिम्मेवार बन्न उद्योग सञ्चालकलाई आग्रह गरीन् । अनुगमन समितिले आउँदो ७ दिन भित्र सकारात्मक सन्देश ल्याउने काममा उद्योगलाई सहयोगि बन्न सुझाब दिइन् । स्थानिय बासिन्दा बराबर स्थानिय सरकारका लागि कोही नहुँने भन्दै सजग भएर उद्योग सञ्चालन गर्न तर्फ ध्यान दिन सुझाइन् ।

बैठकमा उपप्रमुख राजेश बानियाँले स्थानियलाई खुशी बनाएर काम गर्दा मात्र उद्योगको समस्या हट्दै जाने बताए । स्थानीयलाई जति दुख दियो उत्ती उद्योगमा समस्या थपिने बताए ।