हेटौँडा । ग्याष्ट्रिक लगायतका क्यान्सर रोग न्यूनीकरणका लागि विषादी रहित तरकारी उत्पादन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । नेपाल अर्बुद रोग निवारण संस्था को आयोजना, हेटौँडा उपमहानगरपालिका को सहकार्य तथा शुभकामना महिला बचत तथा ऋण सहकारी संस्था को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष उद्धव सत्याल ले स्थानीय तहमा अत्यधिक तथा असुरक्षित रूपमा विषादी प्रयोग भइरहेको उल्लेख गर्दै सकेसम्म रासायनिक विषादीको सट्टा जैविक विषादी प्रयोग गर्न आग्रह गरे। रासायनिक विषादी प्रयोग गर्नै परे सुरक्षित विधि अपनाउनुपर्नेमा उनले जोड दिए। उनले क्यान्सर जस्ता घातक रोगबाट बच्न यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउँदै आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गरे ।
संस्थाका केन्द्रीय उपमहासचिव प्रकाश खतिवडा ले क्यान्सरको बढ्दो अवस्था, विषादी प्रयोगबाट हुने जोखिम, लक्षण तथा बच्ने उपायबारे जानकारी गराए । उनले सन् २०२० को अध्ययनअनुसार सुर्तिजन्य पदार्थबाट राज्यले १८ अर्ब राजस्व उठाउँदा त्यसबाट उत्पन्न रोगहरूको उपचारमा ४० अर्बभन्दा बढी खर्च भएको तथ्य प्रस्तुत गर्दै सुर्तिजन्य पदार्थमा करको दायरा बढाउन सरकारसँग आग्रह गरे ।
बागमती प्रदेश संयोजक गणेश कोईराला ले “स्वस्थ खाना, विषादी रहित तरकारी र स्वस्थ जीवनशैली क्यान्सरबाट बच्ने प्रभावकारी उपाय” भएको बताए । संस्थाका उपाध्यक्ष भिमप्रसाद तिमल्सिनाले महिला लक्षित कार्यक्रममार्फत विषादीको उचित प्रयोग र जैविक विकल्पबारे चेतना फैलाउने उद्देश्य रहेको जानकारी दिए ।
कार्यक्रमका सभापति माधव अधिकारीले क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्दै विषादीको असुरक्षित प्रयोगका कारण जोखिममा परेका नागरिकलाई सुसूचित गर्नु संस्थाको नीति अनुरूपको कार्य भएको बताए । कार्यक्रममा कृषि प्राविधिक गणेश खड्काले विषादीका प्रकार, सुरक्षित प्रयोग विधि, विषादी न्यूनीकरणका उपाय तथा सुरक्षित कृषि अभ्यासबारे सहजीकरण गरेका थिए।
महिला बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष शान्ता गौतम, व्यवस्थापक जानुका ढुंगाना लगायत सहभागीहरूले अब जैविक विषादी प्रयोगलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले स्थानीय सरकारले जैविक विषादी उत्पादनका लागि आवश्यक वातावरण र सामग्री उपलब्ध गराउनुपर्ने मागसमेत राखेका थिए ।
कार्यक्रममा संस्थाका निवर्तमान सभापति कपिला जोशी, कोषाध्यक्ष लक्ष्मण महत, सहसचिव पुरुषोत्तम पौडेल, सदस्यहरू डा. बलराम भट्ट, मानबहादुर लामा, मेनुका खड्का र जानकी गिरी लगायतको सहभागिता रहेको थियो । संस्थाका सचिव जयप्रकाश घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्