हेटौँडा । हेटौँडा–६, चौघडास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको विस्तारित बैठक चौघडामा रहेको वंशगोपाल मन्दिरमा शनिबार सम्पन्न भएको छ। संस्थाको चालु आर्थिक वर्ष ०८२/०८३ को स्वीकृत कार्यक्रमअनुसार विस्तारित बैठक आयोजना गरिएको हो।

संस्थाले हालसम्म गरेका विभिन्न कार्यहरूको समीक्षा गर्दै आगामी वर्षमा सञ्चालन गर्नुपर्ने कार्यक्रम तथा योजनाबारे जानकारी आदान–प्रदान र छलफल गर्ने उद्देश्यले विस्तारित मञ्चको आयोजना गरिएको थियो। कार्यक्रममा संस्थाका व्यवस्थापक दीपेन्द्र गौतमले संस्थाले गरेका कार्यहरू तथा आर्थिक विवरण प्रस्तुत गरेका थिए ।

सहभागी शेयर सदस्यहरूले समयसापेक्ष ब्याजदर परिमार्जन, महिला केन्द्रित कार्यक्रम, सीपमूलक तालिम तथा शैक्षिक कर्जामा सहुलियतपूर्ण ऋणजस्ता कार्यक्रम सञ्चालन गरी सहकारीले उदाहरणीय काम गरेको बताएका थिए।

उनीहरूले भविष्यमा युवा लक्षित कार्यक्रम सञ्चालन गर्न, व्यवसाय सञ्चालन गर्ने महिलाहरूलाई ब्याजमा छुटको व्यवस्था गर्न, उत्कृष्ट बचतकर्ता तथा ऋणीलाई सम्मान गर्न र पशुपालन तथा कृषि ऋणमा थप सहुलियत प्रदान गर्न सुझाव दिएका थिए। कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार, शेयर सदस्य, कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

२०५३ सालमा स्थापना भएको उक्त सहकारीमा १ हजार ३ सय ७७ महिला, १ हजार १ सय ३ पुरुष तथा अन्य ८ जना गरी कुल २ हजार ४ सय ८८ शेयर सदस्य रहेका छन्। संस्थाको शेयर पुँजी २ करोड ७६ लाख ३८ हजार रुपैयाँ, निक्षेप २७ करोड ३८ लाख ८७ हजार रुपैयाँ तथा ऋण लगानी १८ करोड ७६ लाख १४ हजार रुपैयाँ रहेको संस्थाले जनाएको छ।

भीमसेन पौडेल
थप जानकारी