हेटाैँडा । केन्द्रमा कांग्रेस र एमालेबिचको सत्तासाझेदारी अन्त्य हुने चर्चासँगै यसको प्रत्यक्ष प्रभाव बागमती प्रदेश सरकारमा पनि पर्ने देखिएको छ। सत्तासमीकरण परिवर्तन हुने भएपछि बागमती प्रदेश सरकारमा सहभागी एमालेका ६ मन्त्रीले बिहीबार मन्त्रिपरिषद् बैठकपछि सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन्।

प्रदेशका स्वास्थ्यमन्त्री तथा एमालेका नेता किरण थापा मगरले बिहीबार पत्रकारहरूसँगको अनौपचारिक छलफलका क्रममा आज ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकपछि एमालेका सबै मन्त्रीले राजीनामा बुझाउने तयारी गरेको जानकारी दिए। उनका अनुसार केन्द्रमा नयाँ राजनीतिक समीकरण बनेसँगै प्रदेश सरकारमा एमालेको सहभागिता कायम राख्नु उपयुक्त नहुने निष्कर्षमा पार्टी पुगेको हो।

‘केन्द्रमा हाम्रो सत्तासमीकरण टुंगिसकेको छ। अब प्रदेशमा पनि नयाँ सरकार वा नयाँ मन्त्रिपरिषद् गठनको प्रक्रिया अघि बढ्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि एमालेले मार्गप्रशस्त गर्ने निर्णय गरेको छ। आजको मन्त्रिपरिषद् बैठकपछि हामी सबै मन्त्रीले राजीनामा बुझाउनेछौँ।’

उनले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पनि सत्तासमीकरण परिवर्तनको अवस्थालाई ध्यानमा राख्दै एमालेका मन्त्रीसँग राजीनामा माग्ने तयारी गरेको जानकारी दिए। त्यसअनुसार एमालेले सरकारबाट बाहिरिएर नयाँ सत्तासमीकरण निर्माणका लागि सहज वातावरण बनाउने निर्णय गरेको उनको भनाइ छ।

मन्त्रिपरिषद् पुनर्गठनको तयारी रोकियो
यसैबिच, प्रदेश सरकारले गत २२ वैशाखमा १४ वटा मन्त्रालयलाई घटाएर आठमा सीमित गर्ने निर्णय गरेको थियो। उक्त निर्णय साउन १ गतेदेखि कार्यान्वयन गर्ने तयारी भइरहेका वेला सत्तासमीकरण परिवर्तनले मन्त्रालय पुनर्संरचनाको प्रक्रिया पनि नयाँ मोडमा पुगेको छ।

मन्त्री थापाका अनुसार बागमती प्रदेशमा मन्त्रालय संख्या घटाउने निर्णयअनुसार एमालेले आफ्ना मन्त्रीहरूको जिम्मेवारी पुनः व्यवस्थापन गर्ने तयारी गरिरहेको थियो। आठ मन्त्रालयको नयाँ संरचनाअनुसार मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्ने तयारी भइरहेका वेला केन्द्रको राजनीतिक समीकरण नै फेरिएपछि उक्त योजना स्थगित भएको उनले बताए।

‘हामीले सबै मन्त्रीलाई फिर्ता गरेर नयाँ संरचनाअनुसार पुनः जिम्मेवारी दिने तयारी गरेका थियौँ,’ उनले भने, ‘तर, गठबन्धन नै परिवर्तन भएपछि पार्टीको निर्देशनअनुसार सरकारबाट बाहिरिने निर्णय गरेका हौँ।’

हाल १०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा कांग्रेस ३६ सिटसहित पहिलो दल छ भने नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।

कोको मन्त्री सरकारबाट बाहिरिँदै छन् ?
गत साउन २० गते गठन भएको बागमती सरकारमा एमालेबाट स्वास्थ्यमन्त्री किरण थापामगर, कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापा, वन तथा वातावरणमन्त्री भरतबहादुर केसी तथा उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठ सहभागी छन्। यी सबै मन्त्रीले बिहीबार राजीनामा बुझाउने तयारी गरेका छन्।

नयाँ सत्तासमीकरणतर्फ ध्यान
एमाले सरकारबाट बाहिरिएपछि बागमती प्रदेश सरकारको नयाँ राजनीतिक समीकरणबारे चासो बढेको छ। केन्द्रमा बनेको नयाँ गठबन्धनको प्रभाव प्रदेशमा पनि पर्ने निश्चितजस्तै देखिएपछि आगामी सरकारको स्वरूप कस्तो हुने भन्ने विषयमा राजनीतिक दलबिच छलफल तीव्र भएको छ।

एमालेको बहिर्गमनसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् पुनर्गठन गर्ने वा नयाँ सत्तासाझेदारसँग सहकार्य गरेर सरकारलाई निरन्तरता दिने भन्ने विषय आगामी राजनीतिक छलफल र दलहरूको निर्णयमा निर्भर रहने देखिएको छ। नयाँ पत्रिकाबाट