हेटौँडा । शान्तिटोल टोल विकास संस्था हेटौँडा–६ को २७ औँ वार्षिक साधारणसभाका अवसरमा विभिन्न विधामा उत्कृष्ट १२ जनालाई पुरस्कृत गरिएको छ ।

साधारणसभामा ज्येष्ठ सदस्यतर्फ खिलकुमारी अधिकारी र शेरबहादुर राई, २०८२ सालको एसइई परीक्षामा उत्कृष्ट अङ्क हासिल गर्ने सुजला सापकोटा र प्रशंसा सापकोटा तथा बाल बचतकर्तातर्फ आयुवि सापकोटा र विसा सुवेदीलाई पुरस्कृत गरिएको हो ।

यसैगरी उत्कृष्ट बचतकर्तातर्फ अप्सरा रिजाल र फूलमाया बल, उत्कृष्ट ऋणीतर्फ हिरामाया श्रेष्ठ र गोमा तिमल्सिना, सरसफाइतर्फ यादव सापकोटा तथा सञ्चारकर्मीतर्फ रुपेश दुलाललाई सम्मान गरिएको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष केशव धितालले संस्थागत प्रतिवेदन तथा कोषाध्यक्ष पूर्णभद्र चौलागाईंले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

हेटौँडा–६ का वडाध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष धितालको अध्यक्षतामा भएको साधारणसभामा हेटौँडा–६ का वडा सदस्य विजय पौडेल, हेटौँडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख डा. भीमप्रसाद तिमल्सिना, टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुव अधिकारी, संस्थापक अध्यक्ष बासुदेव सापकोटा, पूर्वअध्यक्षहरू साधुराम चौलागाईं र तेजनाथ ढकाललगायतको उपस्थिति थियो ।

संस्थाले टोलभित्र रहेका विभिन्न धार्मिक स्थलको संरक्षण, सरसफाइ, भौतिक संरचना निर्माण तथा वृक्षरोपणका साथै बचत तथा ऋणको कारोबार गर्दै आएको छ । संस्थाको आफ्नै भवन रहेको र भवनमा इन्टरनेट, टेलिभिजन, पुस्तकालय तथा ज्येष्ठ नागरिक वडा मञ्चको कार्यालयसमेत सञ्चालनमा रहेको संस्थाले जनाएको छ ।

टोल विकास संस्थाले मृत्यु संस्कारका लागि रकम सङ्कलन गर्नुका साथै मृतक कोषसमेत सञ्चालनमा ल्याएको छ । संस्थामा ११० घरधुरी आबद्ध रहेका छन् भने करिब २९ लाख रुपियाँ बचत रहेको जनाइएको छ । संस्थाले टोल विकासका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको र नगरकै उत्कृष्ट टोल विकास संस्थामध्ये एक रहेको जनाएको छ ।

भीमसेन पौडेल
थप जानकारी