हेटाैँडा । आर्थिक अभावका कारण थलिए पनि अघोषित लोडसेडिङलाई बहाना बनाउँदै आएको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आउने भएको छ । उद्योगमा गत मंसिरदेखि बिहान र बेलुका गरी ६ घण्टा लोडसेडिङ भएपछि उद्योग सञ्चालन गर्न नसकिएको उद्योगका निमित्त महाप्रबन्धक नवीन कर्णले बताए । नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमित गर्ने भएसँगै २३ चैतबाट उद्योग पुनः सञ्चालनमा आउन लागेको उनको भनाइ छ ।
गत मंसिरदेखि विद्युत् प्राधिकरणले अघोषित रूपमा बिहान र बेलुका तीन–तीन घण्टा विद्युत् अवरुद्ध गर्दै आएको उनले बताए । यसअघि पनि उपकरणमा समस्या आएपछि उद्योग दसैंअघिदेखि नै बन्द थियो । बिग्रिएका मेसिन मर्मत गरेर तिहारलगत्तै सञ्चालन गर्ने भनिएको उद्योग विद्युत् आपूर्ति नियमित नभएको भन्दै बन्द थियो ।
आन्तरिक समस्या, आर्थिक अभाव, कच्चा पदार्थ खरिदमा समस्या र बिग्रिएका मेसिन मर्मत गर्न नसक्दा उद्योग सात महिनादेखि बन्द छ । उद्योगका निमित्त महाप्रबन्धक कर्णका अनुसार गत ७ असोजदेखि बन्द रहेको उद्योग सात महिनापछि सञ्चालनमा आउन लागेको हो । छिमेकी देश भारतबाट थप चार सय ६ मेगावाट बिजुली आएसँगै हेटौँडा सिमेन्टलगायत औद्योगिक क्षेत्रहरूमा विद्युत् आपूर्ति नियमित भएको उनको भनाइ छ ।
केही समयअघि भारतबाट प्रत्येक दिन बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै विद्युत् आयात हुने गरेकोमा अब राति ११ बजेदेखि बिहान ४ बजेसम्म पनि विद्युत् उपलब्ध हुुने प्राधिकरणले जनाएको छ । यसअघि दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले शुक्रबारदेखि १६ घण्टासम्म आयात गर्न पाउने भएको हो । यससँगै अघोषित लोडसेडिङका कारण बन्द रहेका उद्योगहरू सञ्चालनमा आउने भएका हुन् । जसमा हेटौँडा सिमेन्ट उद्योगसमेत रहेको छ ।
विद्युत् नियमित भएपछि चैत २२–२३ गतेतिर किलमा फायर गर्ने र उद्योग सञ्चालन गरिने उद्योगका निमित्त महाप्रबन्धक कर्णले जानकारी दिए । यसपटक उद्योग सञ्चालन गरेपछि नियमित चल्ने उनको दाबी छ । ‘२२–२३ गते किलमा फायर गर्ने तयारी भइरहेको छ । त्यसपछि उद्योग नियमित चल्छ,’ उनले भने, ‘कुनै भैपरी नआए अब उद्योग बन्द हुँदैन ।’ महाप्रबन्धक कर्णले एक महिनालाई पुग्ने कच्चा पदार्थ मौज्दात रहेको जानकारी दिए । उद्योगले उत्पादन थालेपछि त्यही सिमेन्ट बेचेर समस्या टार्दै जाने उनको भनाइ छ । गत असोजमा उद्योग बन्द हुँदा मौज्दात रहेको करिब डेढ लाख बोरा सिमेन्ट बेचेर केही समय उद्योगका कर्मचारी र मजदुरलाई तलब खुवाएको उद्योगमा पछिल्लो समय तलब खुवाउन नसकेपछि मजदुरहरू आन्दोलित भएका थिए । महाप्रबन्धक कर्णले मजदुरसँग उद्योग सञ्चालनमा आएपछि तलब उपलब्ध गराउँने सहमति भएको दाबी गरे ।
साढे सात महिनामा २६ दिन मात्रै चल्यो
अपरेटिङ खर्च धान्न नसक्दा र पुराना उपकरण बिग्रिरहँदा बारम्बार बन्द हुने हेटौँडा सिमेन्ट उद्योग चालू आर्थिक वर्षमा जम्मा २६ दिन चलेको छ । चालू आर्थिक वर्षको ६ महिनामा साउनमा १ दिन, भदौमा १८ दिन र असोजमा सात दिन गरी जम्मा २६ दिन चलेको हो । चालू आर्थिक वर्षमा साउनमा एक दिन चलेर बन्द भएको उद्योग १४ भदौबाट सञ्चालनमा आएको थियो । तर, ७ असोजमा किलमा समस्या आएपछि बन्द भएको उद्योग अहिलेसम्म चलेको छैन ।
सरकारले केही समयअघि निजीकरणका लागि सिफारिस गरेका नौवटा सरकारी उद्योगमा हेटौँडा उद्योगलाई समेत समेटेको थियो । पटक–पटक बन्द हुँदै आएको हेटौँडा सिमेन्टले उद्योग सञ्चालनका लागि ठूलो रकम निकासा मागेपछि सरकारले निजीकरण गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म पनि हेटौँडा सिमेन्ट उद्योगबारे कुनै निर्णय हुन सकेको छैन ।
संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समेत गत असोजमा उद्योगको निरीक्षण गर्दै हेटौँडा सिमेन्टलाई सरकारले चलाउन नसक्ने, तर निजी क्षेत्रलाई भाडामा दिन सक्ने आशय व्यक्त गरेका थिए । उनले उद्योग सञ्चालनको विभिन्न मोडेलको विषयमा छलफल भइरहेको जानकारी दिँदै छिट्टै निष्कर्षमा पुग्ने दाबी गरेका थिए ।
हेटौँडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भण्डारीले सरकारबाट खासै ठोस निष्कर्ष नआएको जानकारी दिँदै भारतबाट बिजुली आउन थालेसँगै अब उद्योग सञ्चालन गर्ने तयारी गरिएको बताए । उनले विद्युत् आपूर्ति भएसँगै औद्योगिक क्षेत्रमा रहेकोे लोडसेडिङ अन्त्य भएको र हेटौँडा सिमेन्ट उद्योग पनि चलाउन तयारी गरिएको जानकारी दिए । उनले यही २३ चैतबाट उद्योग सञ्चालन हुने दाबी गरे । यसपटक उद्योग सञ्चालन गरेपछि नियमित चल्ने पनि उनले दाबी गरे । नयाँ पत्रिकाबाट












प्रतिक्रिया दिनुहोस्