हेटौँडा । हेटौँडामा पछिल्ला केही वर्षदेखि बढ्दो शहरीकरण यस वर्ष घटेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्षको माघ मसान्तसम्म नयाँ घर बनाउने आधा घटेका छन् ।

जग्गा वर्गीकरणलगायतका कारण रोकिएको कित्ताकाट र आर्थिक मन्दीका कारण नयाँ घर निर्माणमा पनि कमी आएको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ । हेटौँडामा भर्खरै कित्ताकाट खुलेको हो । तर, बैंकहरूले सहजै पर्याप्त ऋण प्रवाह गर्न नसक्दा जग्गा कारोबार बढेको छैन । विगतमा जग्गा वर्गीकरणका कारण किताकाट खुल्न सकेको छैन । हेटौँडामा विगतका वर्षदेखि तीव्र रूपमा जग्गा प्लटिङ गर्ने, कृषि योग्य जग्गा घडेरीका रूपमा बिक्री गर्ने क्रम बढेको थियो ।

तराईबासीको बसाइँ गन्तव्य रोजाइमा परेको हेटौँडामा चालु आर्थिक वर्ष २०७९-८० मा भवन निर्माणको दर निकै कमजोर देखिएको हो । हेटौँडा उपमहानगरपालिकाको योजना तर्जुमा तथा पूर्वाधार विकास महाशाखा भवन अनुमति तथा मापदण्ड कार्यान्वयन शाखाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म २ सय ३३ वटा भवन निर्माणको नक्सा पास भएको देखिएको छ । गत आर्थिक वर्ष २०७८-७९ मा माघ मसान्तसम्म करिब ५ सयको संख्यामा भवन निर्माण अनुमति लगेको तथ्यांक छ ।

भवन निर्माण दरका आधारमा हेटौँडामा बसाइसराइ गरेर आउनेको संख्या पनि कमी आएको उपमहानगरको आकलन छ । योजना तर्जुमा तथा पूर्वाधार विकास महाशाखा भवन अनुमति तथा मापदण्ड कार्यान्वयन शाखाका अनुसार चालु आर्थिक वर्ष २०७९-८० को माघसम्म २ सय ११ नक्सा इजाजत लिन पालिकामा पेस भएको छ भने ११ वटा नक्सा म्याद थप भएको देखिएको छ । चालु वर्षमा ६० वटा नक्सा नामसारी भएको पाइएको छ । चालु आर्थिक वर्षको माघसम्म सार्वजनिक सडक र प्लानिङ स्वीकृतिको काम नभएको महाशाखा प्रमुख सत्यनारायण शाहले जानकारी दिए ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघसम्म सबैभन्दा बढी भवन निर्माण इजाजत हेटौँडा-५ मा ६२ वटा, ८ नम्बर वडामा ३३ वटा, ७ नम्बर वडामा २२ वटा, २ नम्बर वडामा १२ र वडा नम्बर ६ मा ११ वटा रहेको देखिएको छ । अन्य वडामा भने न्यून संख्यामा भवन निर्माण इजाजत दिइएको छ । तथ्यांकअनुसार साउनमा सबैभन्दा बढी ४३, भदौमा ३०, असोजमा ४१, कात्तिकमा १५, मंसिरमा ३६, पुसमा ३७ र माघमा ३१ वटा इजातज लिने कार्य भएको देखिन्छ ।

महाशाखा प्रमुख इन्जिनियर शाहले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्षको सुरुबाटै देखिएको आर्थिक मन्दीका कारण भवन इजाजत लिने संख्यामा कमी आएको बताए । ‘सबैतिर आर्थिक समस्या छ कसरी भवन निर्माणको काम हुनु,’ शाहले भने । बैंक तथा वित्तीय संस्थाले लगानी नगरेसम्म भवन निर्माण नहुने र बजारमा आर्थिक कारोबारमा सुधार नआएसम्म अवस्था यस्तै रहने उनको बुझाइ छ । अहिले नगरका १९ वटै वडामा न्यून संख्यामा भवन निर्माणको काम भए पनि लगानी अपुग हुँदा बनेका घरहरू पनि पूरा गर्न नसकेर म्याद थप गर्न निवेदन आउने क्रममा रहेको उनले बताए ।

भवन अनुमति तथा मापदण्ड कार्यान्वयन शाखाका अनुसार अघिल्लो आर्थिक वर्षमा नक्सा पास ७ सय ४९, नक्सा दर्ता ७ सय ४८, म्याद थप माग ४९, नक्सा नामसारी १ सय ९, सडक सार्वजनिक १४ वटा र प्लानिङ स्वीकृत १३ वटा भएको थियो । शिलापत्रबाट साभार