हेटौंडा । साउन १ गतेदेखि मकवानपुरमा ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ संचालनमा आएको हो । सवारी नियम उल्लंघन कसूरहरूको जरिवाना वापत राजश्व संकलनलाई प्रदेशगत रूपमा बैंकिङ प्रणालीमा जोड्ने योजना अनुरूप उक्त सिस्टम संचालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडा मकवानपुरले जनाएको छ ।

ट्राफिक नियम उल्लंघन गरेवापत तिर्नुपर्ने जरिवाना इसेवा, आइपीएस कनेक्ट, फोन पे र राष्ट्रिय वाणिज्य बैंकबाट भुक्तानी गर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख वसन्त आचार्यले जानकारी दिए । अनलाइन प्रणाली लागूभएपछि पटके र कसुरबारे पनि सजिलै सिस्टमबाट थाहाँ पाउन सकिने उहाँले बताउनुभयो । अनलाइन भुक्तानी गर्दा जरिवाना वापतको राजश्व रकम सीधै सरकारी राजश्व खातामा जम्मा हुनेछ । यो सेवाले जरिवाना रकम ट्राफिक प्रहरी कार्यालयमै गएर तोकिएको व्यांकमा जम्मा गर्नुपर्ने बाध्यता हटेको छ । सवारी चालकले घरमै बसेर अनलाइन भुक्तानी गर्न सक्नेछन् । सिस्टम बागमती प्रदेश अन्तर्गत मकवानपुर सहित सिन्धुली र काँभ्रेमा पनि संचालनमा आएको छ ।