हेटौँडा । हेटौँडा उपमहानगरपालिका फागुन १ गते बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा हुने भएको छ ।

५६ औं नगर स्थापना दिवसको अवसर पारेर हेटौँडा उपहानगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने तयारी गरिएको हो । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उपमहानगरले बालमैत्री स्थानीय तह घोषणाको आवश्यक सबै तयारी पूरा गरेको जानकारी गराएको छ ।

हेटौँडा–५ स्थित क्याम्पा रंगशालामा नेपाल सरकारका उप–प्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा समारोह हुने बताइएको छ ।

बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र घोषणा कार्यविधि २०७९ मा आधारित भई आवश्यक सबै सूचक उपमहानगरले पूरा गरेको नगरप्रमुख मिना कुमारी लामाले जानकारी दिइन । बालमैत्री अभियानले उपमहानगरलाई उत्तरदायी बनाएको उहाँको भनाई छ । हाम्रो हेटौंडा नाम रहेको स्थानीय पाठ्यक्रम तयारीको चरणमा रहेको समते उनले दाबी गरिन ।

पत्रकार सम्मेलनमा नगर प्रमुख लामाले बालमैत्री घोषणा कार्यान्वयन भने चुनौतिपुर्ण रहेको बताइन । उपमहानगरका नगर सहजकर्ताहरुलाई समेत नयाँ ढंगले परिचालन गरिने उनले बताइन ।

घोषणाका लागि आवश्यक ५१ सूचक मध्य ४३ सूचकमा सतप्रतिशत नतिजा उपमहानगरले प्राप्त गरेको छ । १९ वटा वडा रहेको हेटौडा उपमहानगरपालिकामा १८ वर्षमुनिका ५० हजार १ सय ९५ बालबालिका रहेका छन् । बालमैत्री स्थानीय तह घोषणा समारोहमा सबै वडा कार्यालयलाई वडाको व्यानरमा आ–आफ्नो पहिचान झल्कने झाँकी, ¥याली सहित अनिवार्य सहभागिताको लागि नगर कार्यपालिका कार्यालयले पत्राचार समेत गरेको छ ।

पत्रकार सम्मेलन कार्यक्रममा हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मिना कुमारी लामा, उप प्रमुख राजेश बानिया, प्रमुख प्रशासकिय अधिकृत सुर्य प्रसाद गौतम, निर्देशक बिष्णु कुमारी लामिछाने, वडाध्यक्षहरु लगायतकाको सहभागिता रहेको सूचना अधिकारी भानुभक्त थपलियाले जानकारी दिए ।