हेटाैँडा । खानेपानीको मिटर चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्ने दुवै जना नाबालक रहेका छन् । हेटौंडा पमहानगरपालिका–४ बुद्धपथस्थित दिलीप राजथलाको घरबाट खानेपानीको मिटर चोरी गरेको आरोपमा प्रहरीले वडा नम्बर १० बाट एक जना १५ र अर्का १६ वर्षका बालकलाई मंगलबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
उनीहरुले राजथलाको घरबाट खानेपानीको मिटर चोरी गरिरहेको सीसीटीभी क्यामेरामा कैद भएपछि सोही आधारमा पक्राउ गरिएको उनले बताए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत मकवानपुरवाट ५ दिनको म्याद थप अनुमति लिएको छ । हेटौंडामा विगत दुई महिनादेखि खानेपानीको मिटरको चोरी बढेको छ ।
यस अवधिमा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका करिब एक सय भन्दा बढी खानेपानी ग्राहकको मिटर चोरी भइसकेको छ । घरको कम्पाउण्डभित्र जडान गरिएका मिटर चोरहरुले पाइपबाट खोलेर लैजाने गरेका छन् ।
केही महिनादेखि विभिन्न वडाका घरहरुवाट खानेपानीको मिटर चोरी भइरहेको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाले बताए । एउटा मिटरभित्र करिब आधा किलो पित्तल हुन्छ । उक्त पित्तल बिक्री गर्नका लागि मिटर चोरिएको हुनसक्ने हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले बताए । न्यौपानेले भने,‘त्यही पित्तल झिकेर बिक्री गर्नका लागि मिटर चोरी भएको हो ।’ एउटा मिटरभित्र भएको पित्तल ७/८ सय रुपैयाँमा बिक्री हुने गर्छ ।












प्रतिक्रिया दिनुहोस्