हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्र थाहामा रहेको बिसिखेल झाँक्री गुफा संरक्षणको अभावमा ओझेलमा परेको छ । थाहा नगरपालिका वडा नं. १० मा रहेको तल्लो बिसिखेल झाँक्री गुफा संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।
बँदेलको क्रीडा स्थलको रूपमा परिचित गुफा संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको यहाँका स्थानीय शम्भु अधिकारीले बताए । पर्यटकीय क्षेत्र थाहामा घुम्ने र रमाउने ठाउँ धेरैभएपनि पुराना गुफाहरू संरक्षणको अभावमा ओझेलमा पर्दै गएकोमा उनले चिन्ता व्यक्त गरे.।
गणेशमान सिंह मार्ग हुँदै यो गुफा पुग्न सकिन्छ । गुफा आकर्षक र ऐतिहासिक भए पनि पर्यटकहरू आकर्षित गर्न नसकिएको स्थानीय नीराजन मगरले बताए । यो गुफामा पहिले बन झाँक्री बस्ने गरेको किंवदन्ती छ । गुफामा वन झाँक्री पछि मानिसहरूसमेत बस्ने गरेको स्थानीयहरूले बताएका छन् ।
घरमा पालेको बस्तुभाउ बिरामी भए उक्त गुफामा लगेर राखेपछि निको हुने यहाँको जनविश्वास छ । गुफा रहेको स्थानबाट विसिखेल, टौखेल, भेडा फार्म डाँडा थाहा नगरपालिका लगायत क्षेत्र देख्न सकिन्छ । स्थानीय सरकार र प्रदेश सरकारको प्राथमिकतामा नपरेका कारण झाँक्री गुफा मात्रै नभई सितापाइला, चम्पाकेश्वर महादेव गुफा पनि ओझेलमा परेको स्थानीय बिराजन बस्नेतले बताए ।












प्रतिक्रिया दिनुहोस्