हेटौँडा । बागमती प्रदेश सरकारले करिब ५० करोड लगानीमा स्थापना गरेको धुलो दूध कारखाना सञ्चालनमै नआई बन्द हुने अवस्थामा पुगेको छ । प्रदेशका पहिलो कृषिमन्त्री दावा दोर्जे लामाको कार्यकालमा कार्ययोजना र मोडालिटी बिनै हेटौंडामा कारखाना स्थापना भएको थियो । त्यसलाई दिगो रुपमा कसरी सञ्चालन गर्ने भन्ने मोडालिटी नै नबन्दा सञ्चालन हुन नसकेको हो ।

लामापछि बागमतीमा ५ जना कृषिमन्त्री फेरिइसके पनि धुलों दूध कारखाना व्यवस्थित सञ्चालनको लागि उनीहरूले टुंगो दिन सकेका छैनन् । सञ्चालन मोडालिटी र कार्ययोजना बनाउन २ वर्षअघिदेखि विभिन्न समयमा समिति बनाउने, परामर्शदातासँग सुझाव लिने तथा छलफल गर्ने गरिए पनि मूर्त रूप पाउन सकेको छैन ।

तत्कालीन कृषिमन्त्री लामाले दूध उत्पादक किसानलाई प्रत्यक्ष फाइदा पुने भन्दै धुलो दूध उत्पादन कारखाना स्थापनाको प्रक्रिया अघि बढाएका थिए । ३ वर्ष लगाएर ४७करोड रुपैयाँ लगानीमा कारखाना स्थापना गरेका थिए । हेटौडा–१० स्थित सिसौघारीमा २०७७ सालमा धुलो दूध उत्पादन कारखाना सुरु गरिएकोमा २०८० मंसिरमा सम्पन्न गरी परीक्षण उत्पादन थालिएको थियो। दुई बिगाहा जगामा तयार भएको धुलो दूध कारखाना कुन मोडलमा सञ्वालन गर्ने भन्नेबारे प्रदेश सरकार नै अन्योलमा छ ।

२०८० मंसिरमा दूध विकास संस्थान (डीडीसी) सँग प्रदेश सरकारले परीक्षण उत्पादन गर्न सम्झौता गरेको थियो। सोहीअनुसार डीडीसीले दूध बढी भएको बेला पाउडर र बटर उत्पादन गर्ने गरेको छ। डीडीसी हेटौडाका प्रमुख राजीव खनालले आफूहरूलाई आवश्यक परेको बेला प्लान्ट चलाउने गरिएको बताए। कारखाना सञ्चालनको लागि औचारिक कार्ययोजना र अनुमति नभएता पनि परीक्षण उत्पादनको लागि दिइएको अनुमतिबमोजिम पाउडर दूध र बटर उत्पादन गरिरहेको उनले बताए ।

अर्थविज्ञ डा. शंकर उपाध्यायले प्रदेश सरकारले तत्कालीन अवस्थामा पर्याप्त अध्ययन र निश्चित कार्ययोजनाबिनै हचुवामा लगानी गरेकाले करोडौंको लगानी खेर जाने जोखिम रहेको बताए । ’तत्कालीन अवस्थामा सम्भाव्यता अध्ययन गरेको पाइए पनि कारखाना सञ्चालनको लागि कानुनी, आर्थिक र प्राविधिक विषयमा कुनै काम नभएको उनको भनाइ छ। उपाध्यायले भने, ’आयोजना कसरी सञ्चालन गर्ने भन्नेबारे सबै समूहको आ–आफ्नै स्वार्थ छ। सोही कारण सञ्चालनको विषय टुंगो लाग्न सकेको छैन। उपाध्यायले प्रदेश सरकारलाई दिएको सुझावमा प्रदेश सरकारले गरेको करोडौं रुपैयाँको लगानी प्रतिफल के हुने भन्ने बारे यकीन गर्दै डीडीसीलाई कारखाना सञ्चालनको जिम्मा दिनुपर्ने बताए।

बागमती प्रदेशका तत्कालीन कृषिमन्त्री लामाले किसानले उत्पादन गरेको दूध सडकमा फाल्नुपर्ने अवस्था रहेकाले तत्कालीन अवस्थामा सरकारले नै लगानी गरेर पाउडर प्लान्ट स्थापना गर्ने सोचका साथ अघि बढेता पनि हालसम्म त्यसलाई व्यवस्थित सञ्वालन गर्न नसक्नु दुखद भएको बताए । लामाले भने, ’मन्त्रीअनुसार नै सोचहरू फरक भइदियो। पछिल्ला मन्त्रीले कारखाना सञ्चालनको बारेमा रायसल्लाह मागेका छन् । कार्यविधि निर्माणमा सघाउनेछु ।’

बागमती प्रदेशका वर्तमान कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले धुलो दूध कारखाना सञ्चालनमा ल्याउने विषयमा आफूहरूले चासोका साथ काम गरिरहेको बताए। लामो छलफलपछि आफूहरू सार्वजनिक–निजी साझेदारी (पीपीपी मोडल) मा कारखाना सञ्चालन गर्नेगरी काम अघि बढिरहेको मन्त्री पौडेलको भनाइ छ। ’परीक्षण उत्पादन गरिरहेको डीडीसीलाई नै कारखाना सञ्चालनको जिम्मा दिनेगरी छलफल गरियो तर, डीडीसीले नाफा रकम प्रदेश सरकारलाई बौड्न तयार भएन । त्यसकारण उसलाई हस्तान्तरण गर्न सकिने अवस्था रहेन’ मन्त्री पौडेलले भने।

प्रदेश दुग्ध विकास बोर्डका निर्देशक सुशील केसी भने धुलो दूध कारखाना सञ्चालनमा आएन भनी आलोचना गर्नु गलत भएको भन्दै उनी कारखाना चलाउन नपर्दा फाइदा हुने तर्क गर्छन् । किसानले उत्पादन गरेको दूध बिक्री नभई खेर जाने अवस्था (मिल्क होलिडे) हुँदा पाउडर बनाउने उद्देश्यले कारखाना स्थापना भए पनि धुलो दूध बनाउने अवस्था नआउनु किसानको लागि पनि सुखद हुने उनको तर्क छ। धुलो दूध कारखाना चल्दा प्रतिलिटर दूधको उत्पादन लागत अझ बढ्दछ। करिब दस लिटर दूधबाट १ किलो धुलो दूध निर्माण हुन्छ। साथसाथै ६०० देखि ८०० ग्राम बटर निर्माण हुन्छ। यसर्थ धुलो दूध कारखाना नचल्दा कृषकललाई दूध बेच्न भन्झट छैन भन्ने बुझिन्छ। कारखाना चलाउन नपर्नु देशको लागि फाइदाको कुरो हो।’

कारखानाको दैनिक ६० हजार लिटर दूध खपत गर्ने क्षमता रहेको छ। नियमित रूपमा सञ्चालनमा आएमा प्लान्टबाट प्रतिदिन ५ मेट्रिक टन र प्रतिवर्ष एक हजार पाँच सय टन धुलो दूध उत्पादन हुने बताइएको छ । एक वर्षभित्र सम्पन्न गर्नेगरी कारखाना स्थापनाको लागि इजी इन्फ्रा प्रालिसँग २०७७ पुस १ गते ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। तर, कोरोना महामारी र अन्य विविध कारणले तीन पटक म्याद थप्दा कारखानाको लागत ४७ करोड पुगेको प्रदेश कुध विकास बोर्डले जनाएको छ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघको तथ्यांकअनुसार मकवानपुरमा दैनिक एक लाख लिटर दूध उत्पादन हुने गरेको छ। गत एक वर्षको अवधिमा मकवानपुरमा दूध उत्पादन ६० प्रतिशतले बढे पनि स्थानीय बजार र विभिन्न डेरी उद्योगमार्फत खपत भइरहेको संघमन मकवानपुर व्यवस्थापक दामोदर अधिकारी बताउँछन् । प्लान्ट सञ्चालन गर्नका लागि दूध ट्यांकर, मेकानिकल इन्जिनियर, डेरी टेक्निसियनलगायतका जनशक्ति डीडीसीसँग रहेकाले उसैलाई प्लान्ट हस्तान्तरण गर्नेबारे यसअघि नै छलफल भएको पनि उनले बताए। दूध कारखाना निर्माण भएयता बागमती प्रदेशमा पाँच जना कृषिमन्त्री बनिसकेका छन् । काराेबारबाट