हेटौंडा । दशजोड दुई सम्मको शिक्षा हासिल गरेर वैदेशिक रोजगारी र अध्ययनका लागि विदेशिनेको बाक्लो जमात रहेको अवस्थामा मकवानपुरगढी–६, डुम्रेकुनाका राम वहादुर बजगाई स्वदेशमै केही गर्न लागि परेका छन् । उनले वैकिङ्ग तथा वितिय क्षेत्रको अधिकृतसहरको जागिर छाडेर आफ्नै व्यवसाय थालेका हुन् ।
२०७७ सालमा चारजना साथीहरु मिलेर करिव ४० लाख लगानीमा मार्ट व्यवसाय सुरु गरेका बजगाईले हाल एकल रुपमा करिव ५० लाखको लगानीमा व्यवसाय गर्दै आएका छन । उनले हेटौंडा–२, संगमचोकस्थित मेरो मार्ट मार्फत दैनिक उपभोग्य खाद्य सामाग्री र पेयपदार्थहरु विक्रीवितर गर्दै आएका हुन् । उनले सञ्चालन गरेको व्यवसायका कारण दुई जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन ।
जागिर गर्दै गर्दा उनलाई व्यवसाय गर्ने सोच आएपछि उनले सफल व्यवसायी भन्ने अठोट गरेका थिए । हेटौंडाको नारायणी कलेजमा स्नातक तह सम्म अध्ययन गरेका बजगाईलाई संगै अध्ययन गरेका साथीहरुको प्रेरणाले व्यवसाय गर्न प्रेरित गरेको थियो । हामी संगै अध्ययन गरेका साथीहरुको ग्रुप बनाएका थियौं, ग्रुपमा व्यवसाय कसरी गर्ने, के गर्ने भनेर बेला–बेला छलफल चल्थ्यो, ग्रुपमा धेरै जना थियौं, तर व्यवसाय गर्ने बेलामा चार जना मिलेर पाँच हजार बीउ पुँजीबाट व्यवसायको सुरुवात गरेका हौं, अहिले मैले आफैं एकल रुपमा व्यवासय गरिरहेको छु, उनले भने ।
मेरो दृढ इच्छा शक्तिले नै मलाई व्यवसायी बन्न प्रेरित गर्यो, घर परिवारमा जागिर छाडेर व्यवसाय गर्छु भन्दा मान्नु भएको थिएन, परिवारलाई कन्भिन्स गरे, अहिले आमा,ब्वा र श्रीमतिको पूर्णसाथ र सहयोग पाएको छु, उनले भने । किराना पसलमा भन्दा मार्टमा उपलब्ध हुने सामान गुणस्तरीय हुने दावि गर्दै उनले अब विस्तारै हेटौंडावासीलाई मार्ट जाने बानी पर्दै जाने विश्वास लिए । बजगाईले मेरो मार्टमा एकपटक आइदिन आग्रह समेत गरेका छन ।
बजागाईं एक प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्तै युवाहरुले स्वदेशमै उत्पादन र व्यापार व्यवसायसंग जोडिएर उद्योग, कलकारखाना, व्यापार व्यवसाय, कृषि उद्यम गर्न सके पक्क पनि देशमा सामाजिक र आर्थिक सुधार आउनेथियो ।
















प्रतिक्रिया दिनुहोस्