हेटौंडा । कोइला खरिद गर्न नसक्दा हेटौँडा सिमेन्ट उद्योगको सोमवारदेखि उत्पादन बन्द भएको छ । उद्योगमा मासिक तीन हजार मेक्ट्रिक कोइला आवश्यक भएपनि आर्थिक अभावका कारण कोइला खरिद गर्न नसक्दा सिमेन्टको उत्पादन बन्द भएको हो ।

आर्थिक समस्याले आवश्यक कच्चा पदार्थ खरिद गर्न सकिएन, आजदेखि उत्पादन बन्द भएको छ, उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले भने । आर्थिक सङ्कटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसकिएकाले सिमेन्ट उत्पादन बन्द गरिएको उनले बताए । आर्थिक सङ्कटबारे अध्ययन गरेर प्रतिवेदन सङ्घीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराइएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालनमा ल्याइने उहाँको भनाइ छ ।

चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले घाटापूर्ति गर्न र उद्योगलाई नाफामा लान नसकिने अवस्था रहेको उनको भनाई छ । नयाँ मेसिन जडान नगरेसम्म सधैं उद्योग बन्द र खुल्ने क्रम चलिरहने उद्योगका महाप्रबन्धक पाण्डेले बताए । विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापित उद्योगले विसं २०४३ सालबाट व्यावसायिकरुपमा उत्पादन सुरुवात गरेको थियो । उद्योगमा १९० कर्मचारी कार्यरत रहेका छन् । गोरखापत्रबाट