हेटौंडा । बागमती प्रदेशमा रहेका सरकारी कर्मचारीहरुले पश्चिम नेपालका भूकम्पपीडितलाई तलबको रकमबाट काटेर आर्थिक सहयोग गर्ने भएका छन् । कार्यरत सबै कर्मचारीको निश्चित दिनको तलब काटेर भूकम्प प्रभावितको लागि सहयोग गर्ने निर्णय गरिएको छ ।

भूकम्पबाट प्रभावितलाई राहत तथा पुनस्थापनाको लागि बागमती प्रदेश अन्तर्गत कार्यरत प्रमुख सचिव, प्रदेश सचिव एवम् सो सरहका पदाधिकारीको ३ दिनको तलब, अधिकृत स्तरका कर्मचारीको २ दिनको तलव र अन्य सबै कर्मचारीको १ दिनको तलव कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायले जानकारी दिए ।

बागमती प्रदेशका प्रमुख सचिव उपाध्यायको अध्यक्षतामा मंगलबार बसेको बैठकले कर्मचारीको निश्चित तलब रकमबाट काटेर कर्णाली प्रदेशका भूकम्प पीडितलाई दिने निर्णय गरेको हो । बागमती प्रदेशमा करिब ५ हजार कर्मचारी कार्यरत छन् । उनीहरुबाट तोकिएको तलब काट्दा करिब एक करोड २५ लाख रुपैयाँ जुट्ने प्रमुख सचिव उपाध्यायले बताए ।

कर्णाली प्रदेश, जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भई केही दिनअघि गएको भूकम्पले जाजरकोट र रूकुम पश्चिम लगायतका जिल्लाहरुमा जनधनको क्षति पुगेकोमा कर्मचारीहरुले दुःख व्यक्त गरेका छन् ।