काठमाडौँ । शेयर बजार लगातार घटिरहेको छ । फागुन ११ गते बुधबारदेखि बजार निरन्तर घटिरहेको छ । साताको पहिलो दिन आज पनि बजार घटेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.६६ अंकले घटेको हो । ०.१४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५४३.३९ अंकमा ओर्लिएको छ ।

आज २३० कम्पनीका ५१ लाख ३९ हजार २ सय ३९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २ सय ७३ रुपियाँ बराबरको कारोबार भएको हो ।

नेप्से ओरालो झर्दा बैंकिङ, होटल, विकास बैंक र अन्य समूह भने क्रमशः ३.२८, १.५२, ५३.३१ र १९.०२ अंकले बढेका छन् । बाँकी समूह भने राताम्मे भए । सबैभन्दा बढी जीवन बीमा समूह १६६.०९ अंकले घटेको हो ।
नेप्सेका अनुसार आज सबैभन्दा बढी मैलुङ खोला जलविद्युतको शेयर मूल्य ७.८० प्रतिशतले बढेको छ भने शिवम् सिमेन्ट लगानीकर्ताले सबैभन्दा बढी ७.११ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । शिवम्को १५ करोड २२ लाख ८२ हजार २२.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

गत भदौ महिनाको ३ गते बिहीबार हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको बजारमा त्यसपछिका दिनमा उतारचढाव आइरहेको छ । साउन ३१ गते हालसम्मकै उच्च २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ रुपियाँ बराबरको कारोबार थियो ।