blog

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम पारित भएको छ। पूर्वाधार निर्माणदेखि सहर सौन्दर्यीकरणलाई जोड दिँदै ल्याइएको आगामी आवको नीति तथा कार्यक्रममा कतिपय चालु आवकै नीति तथा कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ ।

हेटौँडा उपमहानगरपालिकाको आइतबार यहाँ बसेको १५ औँ नगरसभाले नगरप्रमुख मिनाकुमारी लामाले प्रस्तुत गरेको  आगामी आवको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो ।

नगरप्रमुख लामाले नगरवासीको समग्र प्रगतिका लागि योगदान पुर्‍याउन विपन्न तथा गरिब परिवारलाई लक्षित गरी स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन क्षेत्रको विकास गर्न मेयर हिट कार्यक्रम सञ्चालन गर्ने बताइन । उनले हेटौँडा उपमहानगरपालिका १०मा निर्माणाधीन बस टर्मिनलसहितको सपिङ कम्प्लेक्सको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने बताउँदै वडा नं. १० मा नै रहेको बसपार्कमा रहेका संरचनाहरूलाई विस्थापित गरी आधुनिक सुविधा सम्पन्न व्यावसायिक हेटौँडा कम्प्लेक्स निर्माण कार्यको मोडालिटीसहित प्रक्रिया अगाडि बढाइने बताइन ।

नीति तथा कार्यक्रममा एक वडा एक बालमैत्री पार्क निर्माण, उज्यालो र सुरक्षित सहर निर्माण तथा कर्रा र राप्ती खोलामा कोरिडोर निर्माण गर्ने उल्लेख छ । यस्तै, विद्युतीय नक्सा इजाजत प्रणाली सञ्चालनमा ल्याउने र नयाँ भवनको निर्माण इजाजत प्रदान गर्दा ऊर्जा दक्षता तथा हरित भवन निर्माणका लागि प्रोत्साहित गर्ने नीति उपमहानगरले लिने भएको छ।

कृषि क्षेत्रतर्फ कृषक परिचयपत्र वितरण गर्ने, कृषि  एम्बुलेन्स सञ्चालन गर्ने, खाद्य परीक्षण तथा प्लाण्ट क्लिनिक सञ्चालन, युवा लक्षित कृषि कार्यक्रमलाई निरन्तरता दिने बताउँदै जनावर सेवा आश्रम सञ्चालन गर्नेसम्मका कार्यक्रम आगामी आवको नीति तथा कार्यक्रममा समेटिएको छ ।

नगरप्रमुख लामाले रोजगार बैङ्क स्थापना, सुनौलो शुक्रबार कार्यक्रम सञ्चालन, शिक्षक बैङ्कको व्यवस्था, विशिष्टीकृत मेघा विद्यालय सञ्चालन, युवासँग उपमेयर कार्यक्रम, जनतासँग मेयर स्वास्थ्य कार्यक्रम र सुलभ फार्मेसी सञ्चालनमा ल्याइने बताइन ।

यसैगरी बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा, आमाछोरी कार्यक्रम, सासू बुहारी र किशोरी संवाद कार्यक्रम र ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्ने गरी आगामी आवको नीति तथा कार्यक्रम ल्याइएको छ । नगरप्रमुख लामाले नीति तथा कार्यक्रम कार्यान्वयनले उत्पादकत्वमा वृद्धि, रोजगारी सिर्जना भई नगरको आर्थिक समृद्धि र जीवनस्तरमा गुणात्मक सुधार आउने अपेक्षा गरेको बताए ।

Visited 53 times, 1 visit(s) today