काठमाडौँ । शेयर बजार आज पनि घटेको छ । बजार घटे पनि कारोबार रकम भने उत्साहजनकनै छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.७१ अंकले घटेको हो । ०.३१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१८६.७७ अंकमा ओर्लिएको छ ।

आज २१८ कम्पनीका ९५ लाख ४२ हजार ६ सय ७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २ करोड ९९ लाख ४ हजार २ सय ५१ रुपियाँ बराबरको कारोबार भएको हो ।

समग्रमा बजार घटे पनि ट्रेडिङ, हाइड्रो, लघुवित्त र म्युचुअल फण्ड भने क्रमशः ८६.६८, ४२.७, ७.४१ र ०.०३ अंकले बढेका छन् । बाँकी समूह भने राताम्मे भए । सबैभन्दा बढी निर्जीवन बीमा समूह ८६.२९ अंकले घटेको हो ।

आज सामलिङ पावर र बलेफी हाइड्रोको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सामलिङको ९.९९ प्रतिशत र बलेफीको ९.९७ प्रतिशतले शेयर मूल्य बढेको हो । त्यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले सबैभन्दा बढी ३.९२ प्रतिशतले घाटा व्यहोरेका छन् ।

नेप्सेका अनुसार आज पनि शिवम् सिमन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २५ करोड ३४ लाख ३० हजार ६ सय ७०.३० रुपियाँ बराबरको शेयर कारोबार भएको हो ।

साताको पहिलो दिन आइतबार ५४.५८ अंकले बजार बढ्दा ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २ सय ७२ रुपियाँ, सोमबार १.१५ अंकले बजार बढ्दा ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७ सय ५६ रुपियाँ र हिजो मंगलबार २.८१ अंकले बजार घट्दा ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७ सय ६ रुपियाँ बराबरको कारोबार भएको थियो ।