हेटौंडा । निरन्तर उकालो लाग्दै गरेको शेयर बजारमा ब्रेक लागेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार मंगलबार बजार १०.७८ अंकले घटेको हो । ०.३७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २९३६.६६ अंकमा ओर्लिएको छ ।

नेप्से दोहोरो अंकले ओरालो झरेपनि कारोबार रकम भने उत्साहजनकनै छ । आज २२४ कम्पनीका १ करोड ६० लाख ४ हजार ५ सय ३० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५ सय ६१.८६ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार घटेको दिन आज सामलिङ पावर कम्पनीको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । उक्त कम्पनीको शेयर मूल्य ९.४९ प्रतिशतले बढेको हो । त्यसैगरी मध्ये भोटेकोशी जलविद्युत, बुद्धभूमि हाइड्रो, प्रभु बैंक र बरुण हाइड्रोको शेयर मूल्य क्रमशः ८.११, ६.०८, ५.५६ र ४.६६ प्रतिशतले शेयर मूल्य बढेको हो ।

त्यसैगरी मानुषी लघुवित्तका शेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । मानुषीको शेयर मूल्य आज ५ प्रतिशतले घटेको हो । त्यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंक, गुडविल फाइनान्सको ऋणपत्र, पञ्चकन्या माई हाइड्रो र खानीखोला हाइड्रोका लगानीकर्ताले क्रमशः ४.६२, ४.५२, ४.४७ र ४.४० प्रतिशतले घाटा व्यहोरेका हुन् ।

अपि पावर कम्पनीको उच्च कारोबार भएको छ । अपिको २८ करोड ११ लाख ३९ हजार १ सय ३१.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । त्यसैगरी टप फाइब कारोबार भएका कम्पनीहरुमा अरुण भ्याली हाइड्रो, नेपाल दूरसञ्चार कम्पनी, आइएमई जनरल इन्स्योरेन्स र हिमालयन डिस्टिलरी छन् ।

आजको बढी कमाउने र बढी गुमाउने कम्पनीहरु हेर्नुहोस् ।