काठमाडौं । शेयर बजारमा फेरि करेक्शन देखिन थालेको छ । हिजोजस्तै आजपनि बजार घटेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार ३८.३५ अंकले घटेको छ । १.३१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २८९८.३१ अंकमा झरेको छ ।

आज २२८ कम्पनीका १ करोड १८ लाख ३७ हजार २ सय १५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २ करोड १३ लाख ११ हजार ८ सय ८१.०३ रुपियाँ बराबरको कारोबार भएको हो । बजार घटे पनि दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बुद्धभूमि नेपाल हाइड्रोको शेयर मूल्य ९.९७ प्रतिशत र सामलिङ पावरको शेयर मूल्य ९.९६ प्रतिशतले बढेको हो । आज सबैभन्दा बढी घलेम्दी हाइड्रोका लगानीकर्ताले ४.३४ प्रतिशतले घाटा व्यहोरेका छन् ।

नेप्सेका अनुसार आज अपि पावर कम्पनीको उच्च कारोबार भएको छ । अपि पावरको २० करोड ३२ लाख २१ हजार २ सय ९७.४० रुपियाँ बराबको कारोबार भएको हो । आज धेरै कारोबार भएका टप टेन कम्पनीमा अरुण भ्याली हाइड्रो, एचआईडीसीएल, अपर तामाकोशी, सूर्या लाइफ, एनआइसी एशिया बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, हिमालयन डिस्टिलरी, नेपाल दूरसञ्चार कम्पनी र सेञ्चुरी कमर्सियल बैंक रहेको नेप्सेले जनाएको छ ।