काठमाडौं । नेपाल बुद्धिचाल महासङ्घले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सँगको सहकार्यमा शिक्षामा बुद्धिचाल (चेस इन एजुकेसन) कार्यक्रम घोषणा गरेको छ । महासङ्घले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी आगामी पाँच वर्षको लागि उक्त कार्यक्रमको घोषणा गरेको हो ।

महासङ्घका अनुसार शिक्षामा बुद्धिचाल अन्तर्गत बागमती प्रदेशमा रहेका प्याब्सनमा आबद्ध विद्यालयमा सुरुमा बुद्धिचाल खेलको प्रशिक्षक दिने र त्यसपछि प्रत्येक स्कुलमा बुद्धिचाल प्रतियोगिता आयोजना गरी दुई दुई जना खेलाडी (पुरुष÷महिला) छनोट गर्नेछ । त्यसपछि छनोट भएका खेलाडीबिच प्रदेश स्तरीय प्रतियोगिता गराएर कम्तीमा १० जना खेलाडीलाई कक्षा ४ देखि १२ कक्षासम्म पठन पाठनको लागि निःशुल्क छात्रवृत्ति प्रदान गरिने छ ।

उक्त कार्यक्रम पाँच वर्ष चल्ने र भविष्यमा अन्य प्रदेशमा पनि विस्तार गरिँदै लगिने बताइएको छ । महासङ्घले उक्त कार्यक्रमका लागि ब्याब्सन बागमती प्रदेशसँग पाँच बर्से सम्झौता समेत गरेको छ । सोमबार नै उक्त सम्झौता पत्र महासङ्घका कार्यवाहक अध्यक्ष हेराकाजी महर्जन र ब्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठले आदान प्रदान गरे ।

बुद्धिचाल खेलको विकासका लागि विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने र राम्रा खेलाडीलाई पठन पाठनको लागि छात्रवृत्तिको व्यवस्था गरिनु महत्त्वपूर्ण कार्य भएको महासङ्घका महासचिव धर्म लामाले बताए । महासङ्घका अध्यक्ष महर्जनले ब्याब्सनसँगको सहकार्यले बुद्धिचाल खेलको विकासमा नयाँ आयाम भएको बताए ।

महासङ्घले प्रतियोगिता सञ्चालन गर्नुअघि हरेक विद्यालयमा शिक्षकलाई बुद्धिचाल खेलको प्राविधिक प्रशिक्षण दिने समेत जनाएको छ । शिक्षामा बुद्धिचाल कार्यक्रमको सम्पूर्ण खर्च ब्याब्सन बागमती प्रदेश गर्ने अध्यक्ष केशवलाल श्रेष्ठले बताए । हाल बागमती प्रदेशमा प्याब्सनसँग करिब चार हजार विद्यालय आबद्ध रहेको बताइएको छ ।