हेटौंडा । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजना हुन लागेको प्रथम खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ ।

बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा हुन लागेको प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको तयारी पुरा भएको हो । प्रदेश राजधानी हेटौंडामा आज शनिबार अपरान्न ४ बजे प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । हेटौंडा–५ को क्याम्पाचौरमा हुने उद्घाटनमा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुती, विद्यार्थीहरुद्धारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न झाँकी तथा साँस्कृतिक कार्यक्रमहरु हुने बताईएको छ । प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्ने कार्यक्रम रहेको छ ।

मकवानपुर, चितवन, काभ्रे, काठमाडौं र सिन्धुपाल्चोक जिल्लामा विभिन्न खेलको प्रतियोगिता हुँदै छ । मकवानपुरमा २९ गते आइतबारबाट पुरुष फुटबल, व्याडम्निटन र चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा ३० गतेदेखि भलिबल र क्रिकेट खेल सुरु हुने छ । सिन्धुपाल्चोकमा भने चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने छ ।

प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।