काठमाण्डाै । बङ्गलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली टोली पुरुष तथा महिला टोलीलाई नेपाल भलिबल सङ्घले बिदाइ गरेको छ ।
काठमाण्डाैमा राजधानीमा आज आइतवार भलिबल सङ्घले एक कार्यक्रमको आयोजना गरेर पर्सि ६ गते मङ्गलवारदेखि आयोजना हुने प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष टोलीलाई बिदाइ गरेको हो । टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, मन्त्रालयका सचिव, भलिबल सङ्घका पदाधिकारीले बिदाइ गरेका हुन् । दुवै टोली भोलि साेमवार दिउँसाे १२ बजे ढाका प्रस्थान गर्नेछ । बिदाइपछि नेपाली पुरुष टोलीका कप्तान इमराना मगरले मेडलका लागि टोलीले प्रतिस्पर्धा गर्ने बताए ।
पुरुष तर्फको टोलीमा मानबहादुर श्रेष्ठ र भैरव बमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । घरेलु प्रतियोेगितामा उत्कृष्ट प्रदर्शन गरेका मानबहादुरले भलिबलमा पुनरागमन गर्न पाएर देशका लागि खेल्न पाउँदा निकै खुसी भएको बताए । श्रेष्ठले बलिया टोलीसँग प्रतिस्पर्धात्मक खेल खेलेर पदक ल्याउन मेहनत गर्ने बताए ।
यस्तै साविक विजेता महिला टोलीले पनि उपाधि रक्षा गर्ने लक्ष्य बनाएको छ । कप्तान अरुणा शाहीले विगतको सहभागितामा भन्दा राम्रो प्रदर्शन गरेर उपाधि रक्षाका लागि खेल्ने बताइन् । टोलीमा नयाँ र अनुभवी खेलाडीको सम्मिश्रण भएकाले अघिल्लो संस्करणमा भन्दा राम्रो प्रदर्शन गरेर स्वदेश फर्किने उनले बताइन् ।
प्रतियोगितामा महिला टोलीतर्फ अघिल्लो संस्करणको टोलीमा ब्यापक हेरफेर गरिएको छ । यो संस्करणमा लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी छिन् । यस्तै शान्ति थारु, कृपा अधिकारी, कामना विस्ट र मनिषा चौधरीले टोलीमा पुनरागमन गरेका छन् ।
डिसेम्बर २१ देखि २९ तारिख सम्म आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ पाँच टोलीले सहभागिता जनाउँदै छन् भने महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । पुरुषतर्फ आयोजक बङ्गलादेश, माल्दिभ्स, नेपाल, श्रीलङ्का र उज्वेकिस्तान गरी पाँद देशकाे सहभागिता रहने छ । यस्तै महिलातर्फ आयोजक बङ्गलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलङ्का र उज्वेकिस्तान गरी ६ देशको सहभागिता रहने छ ।
प्रतिक्रिया दिनुहोस्