हेटौंडा । हेटौंडाका खाद्यान्न पसलबाट बिक्री हुँदैआएको चामलका बोरामा तोकिएको भन्दा कम तौल भएको खाद्यान्न विक्री भएको भेटिएको छ । हेटौंडा उपमहानगरपालिका –२ स्थित कान्तिलोक पथमा रहेका खाद्यान्नका अधिकृत बिक्रेताहरुले बिक्री गर्दैआएको चामलका बोराहरु पसलमा नै अनुगमन टोलीले तोकिएको तौलभन्दा कम फेला पारेको हो ।

उपभोक्ता र खुद्रा व्यापारीको गुनासोपछि जिल्ला प्रशासन कार्यालय, मकवानपुरको नेतृत्वमा भएको अनुगमनका क्रममा ३० केजीको बोरामा नौ सय ग्रामभन्दा बढी तौल कम भएको चामल बिक्री गर्दैआएको पाइएको अनुगमनमा संलग्न कर्मचारीले बताए।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले छ वटा खाद्यान्न पसलमा अनुगमनको क्रममा चामलको बोरा तौल गर्दा अधिकांशमा कम तौल पाइएको जानकारी दिए । कम तौल पाइएका कम्पनीका चामलहरु प्रशासनसँग अनुमतिबिना बिक्री नगर्न  निर्देशन दिइएको उनले बताए ।

अमृत ब्राण्ड र माँ दुर्गा ब्राण्डका साबित्री, जिरा मसिनो, बासमतीलगायतका चामलको बोरामा कम तौल रहेको अनुगमनका क्रममा पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शर्माले प्याकिङभएका बोरामा कम तौलमा चामल पाइएपछि अध्ययन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडालाई जिम्मेवारीसहित पत्राचार गरिएको बताए।

यसैबीच, हेटौंडा अस्पतालको फार्मेसीले नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधि शुल्क लिएर बिरामीलाई बिक्री गर्दैआएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर र अख्तियार अनुसन्धान आयोगको कार्यालय, हेटौंडामा उजुरी परेको छ ।

आस्थालिन लगायतका औषधिहरु औषधिको खालमा टिपेक्स लगाएर शुल्क लिँदैआएको पाइएपछि कारबाहीको माग गर्दै उजुरी परेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए। सरकारी निःशुल्क औषधि बिक्री गरेको आरोपमा हेटौंडा अस्पतालको फार्मेसीका कर्मचारी विकास लामालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

सहायक प्रजिअ शर्माले सरकारी निःशुल्क औषधि बिक्री गरेको सम्बन्धमा आवश्यक अनुसन्धान गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई पत्राचार गरिएको बताए । गाेरखापत्रबाट