हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले क्यालेण्डर बनाएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको बुधवारदेखि हेटौंडामा सुरु भएको वार्षिक प्रगति समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै आर्थिक बर्षको अन्त्य चैत वैशाखमा टेण्डर खोल्ने प्रवृत्ति हटाउँदै कामको क्यालेण्डर बनाएर काम गर्न निर्देशन दिए ।
अघिल्लो ४ बर्षको वहुबर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभावी वहुबर्षीय योजना परे, धेरै गुनासाहरु सुनिए, म आफैं आर्थिक मामिला मन्त्री हुँदा वहुबर्षीय योजनाको मापदण्ड बनाएर त्यसलाई नियन्त्रण गरेको हुँ, उनले भने ।
काठमाडौं–हेटौंडा जोड्ने भैंसे–भीमफेदी, फाखेलदेखि फर्पिङसम्मको बाटो मुख्यमन्त्री भएपछि प्राथमिकताका साथ अगाडि बढापनि काम सुस्त र गुणस्तरीय हुन नसकेको उनको भनाई छ । समिक्षा गोष्ठीमा ललितपुरका कार्यालय प्रमुखलाई प्रश्न गर्दै उनले भने–चखेलबाट जानेबाटो कत्ति बर्षमा कहिले बन्छ ?, हामीले तपाईहरुलाई सहयोग गर्ने, तपाईहरुले ठेकेदारहरुलाई काम गर्न दिने हो, पहिलो सरकारको कार्यकालबाट सुधार सुरु भएको काठमाडौं–हेटौंडा सडक खण्डको भीमफेदीको सडकको अवस्था उस्तै रहेकोप्रति चिन्ता व्यक्त गर्दै बाटो बनाउनकै लागि यहाँबाट अन्यत्र सवारी डाइभट गर्ने बागमती सरकारले निर्णय गर्दा हेटौंडाका चोकचोकमा बागमती सरकारलाई धन्यवाद दिएपनि समयमा काम नहुँदा अहिले आम नागरिक रुष्ट हुन थालेको बताए ।
निर्माण कार्यको गुणस्तरका कुनै सम्झौंता गर्न नहुने बताउँदै समयमा काम गर्नका लागि राजनीतिक नेतृत्वले फुकाउनुपर्ने कुरामा सदैव सहयोग गर्न तयार रहेको उनले स्पष्ट पारे । उनले कार्यालय प्रमुखहरुलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै कार्यालयको काम तालिका बनाएर कति सडक छन्, कति ठेक्का जान्छन, कति उपभोक्ता समिति मार्फत गर्ने हो, त्यो छुट्याएर तीन महिनाभित्र पहिलो काम टेण्डरमा जाने योजनालाई छुट्याउन निर्देशन दिए ।
दवाब हुँदाहुँदै पनि मापदण्ड भन्दा बाहिरका योजना नसमेटेको जिकिर गर्दै वहुबर्षीय योजना हाल्दा एकातिर पैसा फ्रिज भएर बस्छ, अर्कोतिर पैसा खर्च गर्न नपाउने अवस्था आएको मुख्यमन्त्रीको भनाई छ । ‘भनेको बेला काम हुँदैन धेरै बहुबर्षीय योजना हामीले धान्न पनि सक्दैनौं । हाम्रो सानो बजेट हो, त्यसैले वहुबर्षीय योजनालाई सकेसम्म नियन्त्रण गर्न खोजेका हौं ।’ अघिल्लो सरकारले हालेका बहुबर्षीय योजनाको बोझ बोक्नुपरेको छ, ३० देखि ४० प्रतिशत काम मात्रै भएकाले त्यसलाइ सम्पन्न गर्न थप चुनौति रहेको उनले बताए । वहुबर्षीय योजना छिट्टै सक्नुपर्छ उनले भने, महत्वपूर्ण कामलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ । कार्यालयमा आएका योजनाहरु टेण्डर नगरि फिर्ता नहोस् उनले भने–‘कि योजना ठिक छैन भनेर कारणसहित मन्त्रालयमा फिर्ता पठाउनुस् ।’
उनले देश संघीय शासन प्रणालीमा गएको तीन तहको सरकार हुँदा पनि मकवानपुरको सेवा लिन चितवन, धादिङ जानुपर्ने वा अन्य जिल्लामा धाउनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने बताए । उनले शहरी विकास र पूर्वाधारणको कार्यालय १३ वटै जिल्लामा पु¥याउन होम वर्क गर्न कर्मचारीलाई निर्देशन दिर्दै संघीयताको महशुस हुनेगरी आम नागरिकले सहज संग सेवा पाउनुपर्ने स्पष्ट पारे । जनताबाट हामी धेरै आलोचित भयौं, मंहगो भयो संघीयता, उनले भने–‘१५/२० लाखको योजना सम्झौंता, कार्यान्वयन गर्न दिनभरी सयम खर्च र वास बस्नुपर्ने जनगुनासो आएको छ, आम नागरिकले दुःख पाए, अब १३ वटै जिल्लाबाट सेवादिने काम गर्नुपर्छ ।’ उनले सरकारले महत्व दिएका कामलाई प्राथमिकताका साथ अगाडि बढाउन कर्मचारीलाई निर्देशन समेत दिए ।
साउन ११ गतेसम्म चल्ने समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले गुणस्तरीयता कायम गर्दै योजनाको औचित्यता पुष्टि हुनेगरी काम गर्न आग्रह गरे । उनले कुनैपनि योजना व्यक्तिको नभएर जनता र सरकारको भएको जिकिर गर्दै प्रदेशको प्राथमिकता साझा हुनुपर्नेमा जोड दिए । योजनवद्ध विकासको काम गर्नुपर्छ, उनले भने ‘यसपालि हामीले योजनावद्ध तरिकाले बजेट निर्माण गर्न कोशिस गरेका छौं ।’
प्रदेश नीति तथा योजना आयोगका सदस्य किरण प्रसाद गजुरेल, प्रदेशका प्रमुख सचिब घनश्याम उपाध्याय, भौतिक मन्त्रालयका सचिब शंकर प्रसाद पण्डित, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब महेश आचार्य, यातायात पूर्वाधार निर्देशनालयका निर्देशक लोकनाथ रेग्मी लगायतकाको आतिथ्यता रहेको थियो । समिक्षा गोष्ठीमा कार्यालय प्रमुखहरुले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।











प्रतिक्रिया दिनुहोस्