हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजा र अफिम खेती फडानी गर्न एक सय ३७ जना प्रहरी परिचालन गरेको छ ।

आइतबार प्रहरी निरीक्षकको कमाण्डमा मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाको विभिन्न वडामा लागुऔषध फँडानी गर्न प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जनाकारी दिए ।

प्रवक्ता भण्डारीका अनुसार ५५ जना प्रहरी राक्सिराङ गाउँपालिकाको ५, ६, ७, ८ र ९ नम्बर वडाका विभिन्न स्थानमा लागुऔषध फँडानीका लागि खटिएका छन् । प्रहरी निरीक्षकको कमाण्डमा ४० जना प्रहरी राक्सिराङको १, २, ३ र ४ नम्बर वडाका विभिन्न स्थानमा खटिएका छन् । यस्तै प्रहरी निरीक्षककै कमाण्डमा ४० जना प्रहरी कैलाश गाउँपालिकाको विभिन्न वडामा परिचालन गरिएको छ भने २ जना प्रहरी ड्रोनसहित खटाइएको भण्डारीले जानकारी दिए ।