हेटौंडा । माक्र्सवादी अध्ययन प्रतिष्ठान नेपालको तेस्रो राष्ट्रिय साधारणसभा शनिबार काठमाण्डौको प्रज्ञा भवनमा भएको छ ।

साधारणसभाले आगामी दुईबर्षे कार्यकालको लागि दिनेश चौलागाईको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा श्रीराम खाईजु, महासचिवमा मकवानपुरका प्रल्हाद लामिछाने, कोषाध्यक्षमा रमा बोहरा चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा मकवानपुरका राज कुमार के.सी., बिष्णु कुमार श्रेष्ठ, गोमा बासतोला, रामजी आचार्य, पिताम्बर चौलागाई, संगिता श्रेष्ठ, गुणखर भट्टराई लगायत रहेका छन् ।

प्रतिष्ठानले माक्र्सवादी बिश्वबिद्यालय स्थापना गर्ने र बिद्यालय तहमा कक्षा ३ देखि १२ सम्म नैतिक शिक्षा, भ्रष्टाचार निवारण शिक्षा र व्यवसायिक शिक्षा अनिवार्य अध्ययन गर्न गराउन पहल गर्ने अध्यक्ष दिनेश चौलागाईले बताए । प्रतिष्ठानले माक्र्सवादी अध्ययन, अनुसन्धान, बहस, अन्तरक्रिया, छलफल लगायतको गतिबिधि सञ्चालन गर्ने छ । सातै प्रदेशमा प्रदेशस्तरको कमिटि बनाई प्रतिष्ठानको गतिबिधि अगाडि बढाइने छ ।

साधारण सभाको उद्घाटन संबिधान सभा सदस्य एवम् संबिधान मस्यौदा समितिका संयोजक खिमलाल देवकोटाको प्रमुख आतिथ्यतामा भएको थियो । साधारण सभामा नेकपा माओबादीका केन्द्रीय सदस्य लोकप्रसाद भुर्तेल, भोला सापकोटा, सल्लाहकार बुद्धिमान तामाङ, नेसपाका केन्द्रीय सचिव ईश्वर रिजाल, राजनैतिक बिश्लेषक सुभाष पोखरेल, दिनेश शर्मा, प्रधानता मासिकका प्रधान सम्पादक पविर्तन भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

Visited 94 times, 1 visit(s) today