हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले पश्चिम नेपालको दुई पहाडी जिल्ला जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार आएको विनासकारी भूकम्पमा दिवङ्गत भएकाहरुप्रति श्रद्घाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन ।

प्रदेश प्रमुख शर्माले यही मिति २०८० कात्तिक १७ गते शुक्रबार राती जाजरकोटको बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्पले पारेको क्षतिका सन्दर्भमा आज आइतबार प्रेस विज्ञप्ति जारी गर्दै श्रद्घाञ्जली तथा समवेदना व्यक्त गरेका हुन् ।

प्रमुख शर्माले यस घटनाले पु¥याएको अपूरणीय क्षतिका कारण सिंगो देश नै स्तब्ध भएको उल्लेख गरे । यस घटनाले आफू अत्यन्त मर्माहत भएको उनको विज्ञप्तिमा लेखिएको छ । ‘भूकम्पबाट पुगेको ठूलो मानवीय तथा भौतिक क्षतिको खबरले मलाई अत्यन्त मर्माहत तुल्याएको छ ।’ शर्माले भने ‘विशेषगरी पश्चिम नेपालको दुई पहाडी जिल्ला जाजरकोट र रुकुम पश्चिममा यस घटनाले पु¥याएको अपूरणीय क्षतिका कारण सिंगो देश स्तब्ध भएको छ ।’

प्रदेश प्रमुख शर्माले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी खोज, उद्धार, स्वास्थ्योपचार तथा राहतको काममा जुट्न सरकार लगायत सम्बन्धित पक्षलाई अपील गरे । साथै यस्ता प्रकोपपछि उत्पन्न हुनसक्ने माहामारीप्रति सजग, सचेत र उद्घारको तयारीका लागि समेत सबैसंग प्रमुख शर्माको आग्रह छ ।