हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषिक्षेत्रमा राज्यले गरेको लगानीको अनुपातमा प्रतिफल प्राप्त नभएको बताएका छन । उनले कृषिमा भएको व्यक्ति केन्द्रित अनुदान लगानीबाट प्रतिफल प्राप्त नभएकाले बागमती प्रदेश सरकार समुदायमा आधारित कृषि प्रणालीमा जान लागेको बताए ।

राष्ट्रिय योजना आयोगको आयोजनामा सोमबार हेटौँडामा भएको सोह्रौँ योजना
(२०८१/०८२–२०८५/०८६) तर्जुमासम्बन्धी बागमती प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटनपछि बोल्दै मुख्यमन्त्री जम्कट्टेलले कृषिमा यसअघि व्यक्ति केन्द्रित गरी दिइएको अनुदान पहुँचवालाले मात्र पाएको बताए ।

राजनीतिक परिवर्तनमा क्रमभङ्ग भयो, प्रशासनिक क्षेत्रमा पनि सङ्घीयताको भावनाअनुसार परिवर्तन हुँदै छ तर योजना निर्माणमा पुरानै मानसिकता रहेको बताउँदै उहाँले भौगोलिक अवस्था र आवश्यकताका आधारमा योजना निर्माणमा विशिष्टीकरण आवश्यक भएको औँल्याए । उनले स्थानीय आवश्यकताका आधारमा योजना निर्माण गर्नुपर्नेमा जोड दिए ।

बागमती प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, प्रदेशका सचिवहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता रहेको छलफल कार्यक्रम मङ्गलबारसम्म चल्नेछ ।