हेटौंडा । नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले कर्णाली प्रदेशको भूकम्पपीडितका लागि ६ लाख सहयोग रकम उपलब्ध गराउनेभएको छ ।

कात्तिक १७ गते राति कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी जनधन गुमाउन पुगेका नागरिकको सहयोगार्थ पाँच लाख ७० हजार रुपियाँ उपलब्ध गराउने एमाले संसदीय दलले निर्णय गरेको हो ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले भूकम्पपीडितको राहत, उद्धार र पुनर्स्थापना कार्यका लागि सहयोग उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।

बागमती प्रदेश सभामा प्रमुख विपक्षी दलका नेतासमेत रहेका थपलियाले एमाले संसदीय दलको तर्फबाट प्रदेशसभा सदस्य तथा पदाधिकारीको तर्फबाट सो रकम सरकारको राहतकोष खातामा जम्मा गर्ने निर्णय गरिएको बताए ।

विपत्मा परेका नागरिकलाई थोरै भए पनि आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने दायित्वबोध गर्दै तत्काललाई सो रकम उपलब्ध गराउने निर्णय गरिएको उनले बताए । बागमती प्रदेश सभामा एमालेका २७ जना सदस्य रहेका छन् ।