हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–१२ मा लिती खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले आयोजनाको शिलान्यास गरेका हुन ।

लिती खानेपानी आयोजनाको साँझेदार संस्था च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्मा, कार्यक्रम निर्देशक किरण न्यौपानेसहितको उपस्थितीमा नागदह स्थित रिजर्भ भ्वायर ट्याङ्की शिलान्यस गरेर आयोजनाको शुरुवात गरिएको हो । १२ नं. को नागदह, ब्लेटोल, गौराइटोल, नयाँ घर टोल, कुण्डलीलगायतका गाउँलाई लक्षित गरी खानेपानी आयोजना निर्माण शुरु भएको हो । आयोजनाबाट २०५ भन्दा बढि परिवार लाभान्वित हुने च्वाइस नेपालका प्रताप घिमिरेले जानकारी दिए । २ करोड ५९ लाख ९० हजार ५ सय ८ रुपियाँ लागत अनुमान रहेको आयोजना १८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको च्वाइस नेपालका कुल प्रसाद तिवारीले जानकारी दिए । नगरपालिकाको तर्फबाट आयोजनाका लागि ६० लाख लगानी रहने छ ।

गुणस्तरीय खानेपानीको अभावमा रहेका उक्त क्षेत्रका बासिन्दाहरुलाई ‘एक घर, एक धारा’ नीति अनुसार खानेपानी आपूर्ति गरिने थाहा नगर उपप्रमुख भरत गोपालीले बताए । नागरिकलाई खानेपानीको अभाव हुन नदिनका लागि सरकारी तथा गैर सरकारी संघसंस्थाहरु संगको सहकार्यमा खानेपानी आयोजनाहरु निर्माण थालिएको उपप्रमुख गोपालीको भनाइ छ । करिब २ किलोमिटर टाढाको घट्टेखोला र मेल खोला मुहानबाट वितरणका लागि पानी ल्याइएको छ ।

यसअघि एउटै धाराबाट १० देखि १५ परिवारले पानी थाप्नुपर्ने बाध्यता रहेको सो क्षेत्रमा आयोजना सम्पन्न भएपश्चात् सहजै खानेपानी आपूर्ति हुने लिती खानेपानी उपभोक्ता समितिका अध्यक्ष हिरामान घलानले बताए । उनले घरघरैमा धारामा पानी आउने भएपछि खुशी व्यक्त गर्दै पानीका लागि श्रमदान गर्न तयार रहेको बताए ।