हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडपर्व लक्षित बजार अनुगमनबाट बरामद गरेको अखाद्य वस्तु शुक्रवार जलाएर नष्ट गरेको छ । प्रशासन परिसरमा म्याद नाघेको अखाद्य र लेवल उत्पादन मिति नभएका वस्तु जलाएर नष्ट गरिएको हो ।

कात्तिक २०, २१ र २२ गते तिहार लक्षित बजार अनुगमनका क्रममा सो वस्तुहरु बरामद गरिएको हो । प्रशासनले २० वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गर्दा ७ वटा पसलबाट म्याद सकिएको अखाद्य र उत्पादन मिति नभएका तीन लाख ५ हजार रुपैयाँ बराबरका सामाग्रीहरु बरामद गरेको मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी झरेन्दप्रसाद चापागाईंले जानकारी दिए । उनका अनुसार चकलेट, पेय पदार्थ, तिहारमा प्रयोग गरिने भाईमसला लगाएतका समाग्री बरामदगरी नष्ट गरिएको हो ।

‘म्याद नाघेका र स्वास्थ्यहित विपरितका खाद्यान्न उपभोक्ताकोमा नपुगोस भनेर हामीले बजार अनुगमन गरेका हौं, यो नियमित प्रक्रिया हो, खाद्य पदार्थ खरिद गर्दा आम उपभोक्तापनि सजग हुनुपर्छ’–उनले भने । उत्पादन लेवल नभएका र म्याद हेरेर मात्रै सामाग्री खरिद गर्न उनले आम उपभोक्तालाई अनुरोध गरे ।

अनुगमनका क्रममा कैफियत देखिएका ७ जना व्यवसायीहरुलाई विभिन्न कसुरमा एक लाख ३५ रुपैयाँ जरिवाना समेत गराईएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । आन्तरिक राजस्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटाँैडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, मकवानपुर, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्चको प्रतिनिधि सहितको टोलीद्वारा हेटौँडा बजार क्षेत्रमा अनुगमन गरिएको थियो ।