हेटौंडा । हेटौंडा–काठमाडौं चल्ने सुमोहरुले यात्रुसंग मनपरी भाडा असुलेका छन । यात्रुसंग भाडा तोकिएभन्दा दोब्बर सम्म असुली गर्दा पनि प्रशासन अझै मौन बसेको छ ।

दसै, तिहार र छठ पर्वको मौका छोपेर सुमोले तोकिएभन्दा बढी भाडा लिएका हुन । हेटौंडाको ९० प्रतिशत सुमो काउन्टरहरुले हेटौंडा–काठमाडौंका लागि प्रति यात्रु एक हजार बढी भाडा लिएका छन । हेटौंडा–काठमाडौंको सुमो भाडादर ६५० रुपैया प्रतिव्यक्ति तोकिएको भएपनि छठ पछि काठमाडौं फर्कने यात्रुको चाप बढी हुने मौका छोपेर सुमो काउन्टरहरुले बढी भाडा असुलेका हुन ।

हेटौंडाबाट काठमाडौं जानका लागि सुमो काउन्टर पुगेका बकैयाका सुमन खत्रीले तोकिएभन्दा दोब्बर भाडा सुमो काउन्टरमा मागेको गु्नासो गरे । उनले हेटौंडाको आधा दर्जन बढी सुमो काउन्टरमा पुगेर टिकट काट्न खोज्दा सबैले हेटौंडाबाट काठमाडौं जान एक हजार मागेको जानकारी दिए ।

१० प्रतिशत सुमो काउन्टरले मात्रै तोकिएको भाडा दरमा यात्रु बोकिरहेका छन भने अन्य सबै सुमोले हजार बढी भाडा लिएको जनगुनासो छ । मकवानपुरगढीका कृष्णप्रसाद चौलागाईले पनि काठमाडौं जान एक हजार तिर्नुपरेको गुनासो गरे ।

हेटौंडा–१२ का सुरज थिङ पनि चाडपर्व सकेर काठमाडौं जानका लागि सुमो काउन्टरमा पुगेका थिए । काठमाडौं जानका लागि उनले पनि सुमोलाइ एक हजार रुपियाँ बुझाएको बताए ।

सयौं यात्रुलाई हेटौंडाबाट छोटो दुरीमा चल्ने यातायातका साधनले दैनिक सास्ती दिँदासमेत स्थानीय प्रशासन भने मौन छ । चाडपर्वमा समस्यामा परेका यात्रुलाई सेवा दिनुको साटो दैनिकरुपमा खुलेआम ठगीधन्दा चलाउँदासमेत प्रशासन मौन छ भने आँखैअगाडि भएको ठगीको साक्षी बस्दै प्रहरीले पनि ठगहरुको धन्दामा थप टेवा पु¥याएको पीडितको आरोप छ ।

हेटौंडाबाट भीमफेदीहुँदै काठमाडौं चल्ने साना यात्रुबाहक सवारीले प्रत्येक वर्ष चाडपर्वको अवसरमा ठगीधन्दा चलाउने गरेको स्थानीय प्रशासनलाई जानकारी हुँदासमेत यात्रुहरु सधैं ठगिनु पर्दा आमनागरिकले सुशासनको अनुभूति गर्न पाएका छैनन् ।