उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको भवनको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल । तस्विरः अनिल पराजुली
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको भवनको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल । तस्विरः अनिल पराजुली

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषि क्षेत्रमा समुदायमा आधारित उत्पादनको मोडेल अपनाउने बताएका छन । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले सरकारी भवनबाट सेवा सुरुवात गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारको कृषि क्षेत्रको लगानी व्यक्ति केन्द्रीत भएकाले त्यसले कुनै परिणम दिन नसकेको भन्दै अब समुदायमा आधारित उत्पादनको मोडेलमा अगाडि बढ्ने स्पष्ट पारे ।

“अब एक दुई सयमा होइन, लाख किसानमा जान पर्छ, प्रदेशका ८५ पालिकालाई एक महिनाभित्र पकेट क्षेत्र घोषण गर्दैछौं,” उनले भने । प्रदेश सरकार, स्थानीय निकाय, नीजि क्षेत्र, सहकारी र किसानको सहभागितामा समुदायमा आधारित कृषि उत्पादन गर्ने जिकिर गर्दै मुख्यमन्त्रीले लगानीको मोडेल र उत्पादन भएको बस्तुको बजारीकरणको जिम्मा समेत प्रदेश सरकारले लिनेगरी काम अगाडि बढाइएको जानकारी दिए । कृषि क्षेत्रमा नेपालमै पहिलो पटक फरक तरिकारले प्रदेश सरकार जान लागेको उनको भनाई छ ।

कार्यक्रममा प्रदेशको उच्च शिक्षाका लागि सार्वजनिक विश्वविद्यालय निर्माण गर्न लागेको जानकारी दिर्दै उहाँले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय गरेको बताए । उनले कृषि र प्राविधिक क्षेत्रमा प्रदेश सरकारले विश्वविद्यालय बनाएर अगाडि बढ्ने जिकिर गरे । प्रदेश सरकार फरक ढंगले अगाडि बढेको बताउँदै उनले अनावश्क खर्च कटौती, उत्पादनको क्षेत्रमा लगानी र परिणम आउने क्षेत्रमा लगानी गरिरहेको बताए ।

त्यस्तै बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा (तामाङ) ले रोजगारी सिर्जना गर्न उद्योगमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले उत्पादनमा बागमती प्रदेश कमजोर रहेको बताउँदै लगानीकर्तालाई उत्साह थप्नेगरी उद्योग स्थापना गर्न शान्तिसुरक्षा सहितको व्यवस्था मिलाउनुपर्नेमा जोडदिए । विगतमा प्रदेश सरकारले उद्योग, व्यापार र व्यवसायलाई प्राथमिकतामा राख्न नसकेको स्वीकार गर्दै मन्त्री लामाले अब उच्च प्राथमिकतामा राखेर आर्थिक विकासमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले सेवा प्रवाह चुस्तदुरुस्त गरिने बताउँदै उद्योग र बाणिज्य क्षेत्रलाई बृद्धि बिस्तार गरिने जानकारी दिए । “जनताले महसुस गर्ने खालको काम गर्न सकिरहेको अवस्था छैन, जनतालाई अब हामीले काम गरेर देखाउनुपर्छ,” उनले भने । भूमि, सामान्य प्रशासनको नीति बनाउन बाँकी रहेको जिकिर गर्दै उनले मन्त्रालयको टिममा रहेर काम गर्न कर्मचारीलाई निर्देशन समेत दिए ।