त्रैमासिक समन्वयात्मक बैठक

हेटौंडा । सामुदायिक वन समूहले गर्ने विभिन्न कार्यहरुको बारेमा जानकारी दिने उद्देश्यका साथ बिहीवार हेटौंडामा त्रैमासिक समन्वयात्मक बैठक भएको छ ।

सव डिभिजन वन कार्यालय, हेटांैडाको आयोजनामा बैठक भएको बसेको हो । बैठकमा सव डिभिजन वन कार्यालय, हेटौंडाका प्रमुख रामचन्द्र श्रेष्ठले सहजीकरण गरेका थिए । बैठकमा काठ दाउरा संकलन, साधारणसभा, वन संरक्षण, सम्वर्धन, थिनिङ, चोरी निकासी नियन्त्रण, योजना तर्जुमा गोष्ठी, विधान कार्ययोजना नवीकरण लगायतका विषयहरुमा छलफल गरिएको थियो ।

बैठकले सामुदायिक वन समूहले मंसिर मसान्त सम्ममा साधारणसभा गरिसक्ने, समयमै वार्षिक प्रगति प्रतिवेदन पेश गर्ने, रानी, पिप्लेपोखरा,रातोमाटे, शिखरपानी लगायतका सामुदायिक वनमा थिनिङ कार्य गर्ने, चुरे क्षेत्रमा अत्यधिका मात्रमा गिटी, बालुवा, वनपैदावार लगायतका क्रियाकलाप बढ्दै गैरहेको हुँदा नियन्त्रणका लागि समिति गठन गर्ने, योजना तर्जुमा गोष्ठी पुस ६ गते गर्ने लगायतका निर्णयहरु गरेको फरेष्टर यदुकुमार घिमिरेले बताए ।

बैठकमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका केन्द्रीय सदस्य रामहरि चौलागाई, जिल्ला अध्यक्ष साधुराम चौलागाई, विभिन्न सामुदायिक वनका पदाधिकारी, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।