हेटौंडा । बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या एघार हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मङ्सिर १८ गते सोमवारसम्म प्रदेशका १३ जिल्लामा एघार हजार ३२८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा प्रदेशभर २८ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशका १३ जिल्लामा १ जनवरी २०२३ देखि हालम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको छ ।

मन्त्रालयको तथ्याङक अनुसार धादिङमा तीन हजार ७६६, काठमाडौंमा दुइहजार ९०७, ललितपुरमा एकहजार ३५४, मकवानपुरमा ७८२, चितवनमा एकहजार ५७३, भक्तपुरमा ५३०, नुवाकोटमा १०४ जनामा डेंगु पुष्टि भएको छ । त्यस्तै काभ्रेपलाञ्चोकमा १७८, रामेछापमा ५०, सिन्धुलीमा ३४, सिन्धुपाल्चोकमा २६, दोलखामा १८ जनामा डेंगु पुष्टि भएको छ भने सबैभन्दा कम रसुवामा ६ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । डेंगु सङ्क्रमणका कारण हालसम्म धादिङ र ललितपुरका दुई÷दुई जना, काभ्रेपलाञ्चोक र मकवानपुरका एक÷एक जना सहित ६ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिए ।

मन्त्रालयका अनुसार जनवरीमा ५७, फेरब्रुअरीमा ३०, मार्चमा २९, अप्रिलमा ५२, मेमा २७, जुनमा ११८, जुलाईमा ८६२, अगस्ष्टमा तीन हजार १६७, सेप्टेम्बर दुई हजार ४६३ र अक्टोवरमा तीनहजार ९८, नोवेम्बर एकहजार ३६४ र डिसेम्बर चार सम्म ६१ जनामा डेंगु सङ्क्रमण पुष्टि भईसकेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०१९ मा ४ हजार ५४ जना, २०२० मा ८६, २०२१ मा १२८ जनामा डेंगु सङ्क्रमण देखिएको थियो भने सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेंगु रोग सङ्क्रमण भएको तथ्याङ्क छ ।