हेटौंडा । समुदायमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण रहेको बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले बताएका छन । २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको शुभकामना सन्देश मार्फत उनले स्वास्थ्य स्वयंसेविकाहरुको योगदान उच्च रहेको उल्लेख गरे ।

“स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको संयुक्त प्रयास“ भन्ने नाराका साथ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाउन लागिएको हो । स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच र दिगो विकास लक्ष्य हासिल गर्नका लागि जनताको सबैभन्दा नजिकमा रहेर स्वास्थय स्वयंसेविकाहरुले सहयोग गरेकोेप्रति स्वास्थ्य मन्त्रीले प्रशंसा पनि गरे ।

स्वयं सेवाको भावनालाई उच्च सम्मान गर्दै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा बागमती सरकारबाट जनही नगद पुरस्कार सहित सम्मान गर्ने कार्यक्रम पनि रहेको स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । बागमती प्रदेशमा ९ हजार चारसय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले सेवा प्रदान गरिरहनुभएको छ । बागमती प्रदेश सरकारले स्वास्थ्य स्वयंसेविकाको बीमा वापतको ५० प्रतिशत रकम समेत भुक्तानी गर्दै आएको छ ।

प्रदेशमा मातृ, नवशिशु र बाल मृत्युदर घटाउन, स्वास्थ्य तथा पोषण सेवाको उपयोगको दर बढाउन एवं संविधान प्रदत्त स्वास्थ्यको मौलिक हकको प्रत्याभुति हुने गरी स्वस्थ नागरिकको अधिकारलाई सुनिश्चित गर्न प्रदेश सरकारको “स्वस्थ नागरिक; गुणस्तरीय जीवनयापन“ को लक्ष्य हासिल गर्न महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले काम गरिरहेको उल्लेख छ ।

आमा र बच्चाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन आवश्यक प्रतिकारात्मक र प्रवर्धनात्मक सेवा पुरÞ्याउने उद्देश्यले वि.सं. २०४५ सालदेखि शुरु भएको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमले नेपालको स्वास्थ्य क्षेत्रको सहस्राब्दी लक्ष्यमा गरेको प्रगतिमा उल्लेखनीय भूमिका रहेको उल्लेख छ । नेपालमा पोलियो रोगको निवारण, सरुवा रोगको नियन्त्रण तथा कोभिड–१९ लगायतका महामारीको नियन्त्रणमा पनि स्वास्थ्य स्वयंसेविकाको योगदान रहेको छ ।