हेटौंडा । पेस्तोल र गोली सहित हेटौंडामा तीनजना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नं.४ हुप्राचौरस्थित एक घरको कोठाबाट सेमी अटो मेटिक पेस्तोल एक थान र गोली २० राउण्ड सहित तीन जना पुरुषलाई पक्राउ गरेको हो ।

मङ्सिर १८ गते हेटौंडा–९ धर्मपथस्थित सुर्य प्रसाद पौडेलको घरमा पटका पड्केको जस्तो आवाज आएपछि १९ गते बिहान उहाँको घरको वरीपरी गोलीको खोका जस्तो बस्तु फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा प्रहरीले उक्त घरको पिलर, बिम, रेलिङवालमा गोली लागेको जस्तो दाग फेला परेको थियो । प्रहरीले नजिकै रहेको प्रगति स्कुल अगाडिको सडकमा १ राउण्ड गोली समेत फेला परेको थियो ।

पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । पत्रकार सम्मेलन मार्फत पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।