काठमाडौं । कीर्तिपुरस्थित पुष्पलाल पार्कदेखि मकवानपुरको फाखेल जोड्ने सडक निर्माणको माग भएको छ ।

शुक्रबार एक कार्यक्रमबीच नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य सूर्य सुवेदीको नेतृत्वमा गएको एक समूहले पुष्पलाल पार्कदेखि मकवानपुरको फाखेल जोड्ने सडक निर्माणको माग गरेको हो । त्यसैगरी पुष्पलाल पार्कदेखि चम्पादेवी मन्दिरसम्म जाने केबुलकार निर्माणसहित विभिन्न २४ बुँदे माग राखेको हो ।

माग सुनवाइ गर्नुहुँदै कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का कार्यवाहक वडा अध्यक्ष दिनेशचन्द दाहालले ती मागप्रति सकारात्मक रहेको बताए । उनले माग सम्बोधनका लागि सम्बद्ध पक्षसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा (माओवादी केन्द्र)का वडा कमिटीका अध्यक्ष राकेश बुढाथोकी र सचिव राकेश विष्टको हस्ताक्षर रहेको सो ज्ञापनपत्रमा वडामा रहेका स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति, विद्यालयको शैक्षिक गुणस्तर बढाउन माग गरिएको छ । उक्त क्षेत्रका सडक सञ्जाललाई कालोपत्रे, कृषि पेसाको व्यवसायीकरणको सवाललाई समेत मागमा समेटिएको छ ।