हेटौंडा । श्री राधा माधव समिति नेपाल, विद्वत् समाज नेपाल एवं डिभाइन युथ क्लब नेपालद्वारा भूकम्प प्रभावित जाजरकोटमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

शनिबार भएको शिविरमा १४ सय जना बिरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । शिविरमा निःशुल्क स्वास्थ्य जाँच गरिनुका साथै निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।

नलगाड नगरपालिका वडा नं. १२, तल्लुबगर स्थित श्री विरेन्द्र हिमालय माध्यमिक विद्यालयको प्राङगणमा भएको शिविरमा सामान्य चिकित्सा, फोक्सो तथा निमोनिया, स्त्री तथा प्रसूति रोग, दन्त शिविर तथा मनोरोग परामर्सका बिरामीको स्वास्थ परीक्षण गरिएको थियो ।

शिविरमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. १०, ११, १२, १३ र पश्चिम रुकुम जिल्लाको आठविसकोट नगरपालिका वडा नं. ४, ५, ६ एवं डोल्पा जिल्लाबाट समेत विरामीहरु स्वास्थ्य उपचारको लागि आएका थिए ।सोही शिविरमा तीन महिना भित्रका सुत्केरी महिलाहरुलाई न्यानो वस्त्र पनि वितरण गरिएको थियो । शिविरको उद्घाटन नलगाड नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष मोहन बहादूर खत्रीले गरेका थिए ।