हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा शनिबार साँझ मोटरसाइकल र बस ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

शनिबार साँझ थाहा नगरपालिका–९, चित्लाङमा भित्री सडक खण्डमा काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको बा ४ ख ८७७३ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बा ६५ प ४१७३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक थाहा नगरपालिका–१० का ३० वर्षीय मनोज गमालको टाउको र शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाईते भएका थिए । मनोजको उपचारका लागि ट्रमा सेन्टर काठमाडौं लगिएकोमा ७ बजेर २० मिनेटको समयमा उपचारको क्रममा मोटरसाइकल चालक मनोज गमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडी सवार थाहा नगरपालिका–१० कै ४८ वर्षीय शम्भु गमालको दाँया खुट्टा र छातीमा चोट लागी मध्यम घाईते थिए । उनलाई उपचारका लागि मनमोहन अस्पताल काठमाडौ लगिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाग्रस्त बस र मोटरसाइकल र बसका चालकलाई इलाका प्रहरी कार्यालय पालुङले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।