राक्सिराङ गाउँपालिका वडामै पुगेर योजना सम्झौता गर्दै
राक्सिराङको ३ नं. वडा कार्यालयमा पुगेर योजना सम्झौता गदै गाउँपालिका अध्यक्ष राजकुमार मल्ल ।
हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले वडा कार्यालयमार्फत योजना सम्झौता सेवा दिन सुरु गरेको छ । उपभोक्ता समितिमार्फत गरिने योजना कार्यान्वयनलाई व्यवस्थित र झन्झटरहित बनाउन वडामै पुगेर योजना सम्झौता गरिएको हो । स्पष्ट कार्ययोजना र कार्य ढाँचा तयार गरेर गाउँपालिकाले वडा कार्यालयमार्फत सेवा दिएको छ ।
पालिकाको जनप्रतिनिधि र कर्मचारीको टोलीले ३ नम्बर वडामा पुगी उपभोक्तामार्फत हुने कामको सम्झौता गरेको छ । योजना कार्यान्वयनको लागि उपभोक्ता समितिलाई पटकपटक गाउँपालिका कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गर्नका लागि वडामै पुगी आवश्यक कागजात बनाएर योजना सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।
उपभोक्ता समितिमार्फत काम गर्दा चाहिने आवश्यक कागजात जुटाउने झन्झटको पनि अन्त्य गरिएको छ । उपभोक्ता समिति गठनको माइन्युटदेखि भुक्तानीसम्मका सबै प्रक्रियाका लागि आवश्यक कागजातको फारम समेटिएको किताब नै तयार गरी गाउँपालिकाले वडा कार्यालयमार्फत उपभोक्ता समितिमा पठाएको छ । उपभोक्ता समिति गठन, निवेदन, विविध कागजातको नमूना फारमदेखि वडा कार्यालयबाट गरिने सिफारिसको नमूनासहितको किताब उपभोक्ता समितिले प्राप्त गर्नेछन् । सोही किताबमा उल्लेख भएको फाराम भरी सही छाप गरी उपभोक्ता समितिले गाउँपालिकासँग सम्झौता गर्न जान सक्नेछन् ।
सम्झौता भएपछि सो समितिलाई अर्काे नमूना फारमसहितको किताब उपलब्ध गराइनेछ । सोही किताबमा उल्लेख भएबमोजिमको फारम भर्ने र उल्लेखित कागजात र बिल राखेर गाउँपालिकामा पेश गरेपछि अन्तिम भुक्तानी हुने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष मल्लले बताए । गाउँपालिकाले तयार गरेको एकीकृत मान्युटलगायत अन्य आवश्यक कागजपत्रको एकीकृत पुस्तिकामा डोर हाजिरीको फारमदेखि प्राविधिक र वडा कार्यालयले गर्ने सिफारिस फारमसमेत उल्लेख रहेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा ३ नम्बर वडामा ३४ वटा योजनामा बजेट विनियोजन गरेकोमा केहीको यसअघि नै सम्झौता भई कार्यान्वयनमा गइसकेको बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले सम्झौता हुन बाँकी रहेका योजनाको सम्झौता पनि केही दिनमै गरिने जानकारी दिए । अन्य वडाहरुबाट कार्यान्वयन हुने योजनाहरुको पनि धमाधम सम्झौता भइरहेको बताउँदै आफूहरु योजना सम्झौताको अन्तिम चरणमा रहेको उनको भनाई छ ।
राक्सिराङले गाउँपालिका तह र वडा तहमार्फत उपभोक्ता समितिबाट गर्ने योजनाको वर्गीकरण गरेको छ भने ठेक्कामार्फत गर्ने योजनाको पनि वर्गीकरण गर्दै योजना कार्यान्वयनको कार्ययोजना यसअघि नै बनाइसकेको छ । स्वीकृत कार्ययोजनाअनुसार राक्सिराङले मंसिर मसान्तसम्ममा सबै योजनाहरुको सम्झौता गरिसक्ने लक्ष्य राखेको छ । साथै ४५ लाखसम्मका योजना उपभोक्तामार्फत र सोभन्दा माथिका योजनाको ठेक्का प्रक्रियाबाट काम गर्ने जनाएको छ । ८ लाखसम्मको योजना भने वडा कार्यालयबाटै सम्झौता र कार्यान्वयन गर्नेगरी यसअघि नै कार्ययोजना स्वीकृत भइसकेको प्रमुख प्रशासकीय अधिकृत गर्तौलाले बताए । चैत मसान्तभित्र गाउँपालिकाको सबै योजनाहरु सम्पन्न गरिसकिने कार्ययोजनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्